ad ad

कारोबार


व्यवसायीका समस्याबाट फुरेको आइडिया ‘डिजिटल साहुजी’

व्यवसायीका समस्याबाट फुरेको आइडिया ‘डिजिटल साहुजी’

डिजिटल साहुजीका संस्थापक तथा प्रमुख कार्यकारी राजन न्यौपाने र सीएमटीओ डिल्ली बास्कोटा। तस्बिर : सरोज बैजु


वसन्त अर्याल
फागुन १९, २०८० शनिबार ७:४६, काठमाडौँ

केही व्यवसाय गर्ने हुटहुटी पालेकाहरु भन्ने गर्छन्— ‘व्यापारमा फसेपछि सिकिन्छ।’ 

खोलामा हाम नफालेसम्म पौडिन सिकिन्न भनेजस्तै व्यवसायी बन्न सर्वप्रथम व्यापार/व्यवसाय नै सुरु गर्नुपर्छ। त्यसपछिको नतिजा हो नाफा वा घाटा। 

पसल होस् कि रेष्टुराँ र होटल, घरजग्गा होस् कि सेयरबजार। अँध्यारोमा ढुंगा हानेजसरी सुरु हुन्छन् धेरै व्यवसाय। थोरैको मात्र निशाना लाग्छ। लहडमै दौडिँदा डुब्ने धेरै हुन्छन्। तिनमध्ये केही फेरि उठ्छन् त केही पलायन हुन्छन्। 

किनभने हजार जनाले व्यापार सुरु गर्दा सयमात्रै सफल भएका कैयौँ उदाहरण छन्। 

राजन न्यौपानेले पनि यसैगरी व्यापार थाले। भनेजस्तो भएन। लडे तर फेरि उठे। हिम्मत हारेनन्। बरु फरक तरिकाले सोच्न लागे। 

नेपालमै केही गर्ने हुटहुटीले विदेश जाने सोच नै आएन। जागिर खान मन थिएन। आफ्नो खर्च कसरी जुटाउने त? मस्तिष्कमा व्यापारबाहेक केही थिएन। 

‘एउटा जागिर खाने होइन, १०० वटा जागिर दिने हो’, घरमा आमालाई सुनाउँथे। तर व्यापारीका अनेक समस्या। उम्किनै गाह्रो। 

तिनको समाधान खोज्न थाले। एउटा अवधारणा बन्यो– आफ्नो व्यवसाय पनि बढ्ने र अरु व्यापारी पनि नडुब्ने। तर कसरी? 

उनको निष्कर्ष छ, ‘व्यापार गर्न गाह्रो होइन, सजिलो हुन्छ। तरिका फरक चाहिन्छ।’

राजन न्यौपाने र डिल्ली बास्कोटा

व्यवसायीका समस्याबाट फुरेको आइडिया ‘डिजिटल साहुजी’ 
राजन न्यौपाने पाल्पामा हुर्के। अर्घाखाँची, रुपन्देहीमा अध्ययन गरे। आईएमा गणित र अर्थशास्त्र पढे। पछि आईटीमा स्नातक गरे। स्नातक सुरु गर्दा नै बुटवलमा कम्प्युटर तालिम दिने व्यवसाय सुरु गरे। इन्स्टिच्युटमा नाफा नभए पनि अहिलेसम्म सञ्चालनमा छ। 

‘सुरुवातको व्यवसाय भएर बन्द गर्न मनले मान्दैन’, उनी भन्छन्। 

व्यवसाय बढाउन फिटनेसका प्रोडक्टको बिक्री थाले। आईटीका प्रोडक्ट थपे। पसलको काउन्टरमा आफैँ बस्थे। प्रतिक्रिया सुन्थे।

व्यवसायीका समस्या बुझ्न धेरै ठाउँ चहारे। अधिकांश व्यवसायीका ५–६ वटा समस्या देखे।

‘व्यवसायीका समस्याको समाधान डिजिटल सिस्टमबाटै गर्न सकिन्छ’ भन्ने निष्कर्ष निकाले। सुरुमा स्काईसेवा डटकमको डोमेन ल्याए। बजारमा थुप्रै ‘सेवा’ नामका अनलाइन आइसकेका थिए। 

तर कन्सेप्ट फरक भएकाले नाम पनि फरक हुनुपर्छ लाग्यो। बुटवलमा व्यवसाय गर्ने उनी सिस्टम बनाउन धेरै पटक काठमाडौं आए। 

‘केही समय बस्यो डेभलपर्सलाई कन्सेप्ट सुनायो। हुन्छ भन्थे तर आफूले सोचेजस्तो सिस्टम कसैले बनाउन सकेन’, उनी सुनाउँछन्, ‘विदेशमा यस्तो सिस्टम चलेको छ, यसरी नै चल्छ भन्ने प्रि–अकुपाइड माइन्ड छ।’ 

तर उनलाई विदेशमा वा नेपालमा कसैले चलाएको सिस्टम नक्कल गर्नु थिएन। 

‘अनि इनहाउस डेभलपर्स राखेँ’, उनी भन्छन्। 

अहिले उनको सोचको खाका तयार भएको छ ‘डिजिटल साहुजी’। सोच पुरानै भए पनि २ वर्षअघि डिजिटल साहुजीको डोमेन किने र अघि बढे। 
 
स्काई टेक प्रालिको भगिनी कम्पनी हो डिजिटल साहुजी। स्काई टेक प्रालिमार्फत उनले १७ वर्षदेखि आईटीका प्रोडक्ट बिक्री गरिरहेका छन्। आफूले व्यहोरेका समस्या अरुलाई नपरोस् भनेर सिस्टम डेभलप गरेको उनको भनाइ छ। 

‘डिजिटल साहुजीको कन्सेप्ट अर्को इकमर्स प्लेटफर्मजस्तो होइन’, उनी भन्छन्, ‘व्यवसाय सजिलो छ भन्ने भाष्य बनाउने डिजिटल सिस्टम हो।’

साहुहरुको साहु
नेपालका व्यवसायी ५–६ वर्षमा कुनै न कुनै कारणले समस्यामा पर्ने गरेका छन्। जस्तो कि भूकम्प, नाकाबन्दी, कोरोनाले व्यवसायको ट्रेन्ड नै बदलिदियो। 

व्यवसायीको लगानीका पनि सीमितता हुन्छन्। अहिले आईटी प्रोडक्टका २०० बढी ब्रान्ड बजारमा छन्। त्यसका आइटम कति छन्। सबै प्रोडक्ट राख्न सक्दैनन्। 

‘पसलले बजारमा सबै प्रोडक्ट स्टकमा राख्न सक्दैन’, उनी सुनाउँछन्, ‘सामान राख्दैमा बिक्री हुन्छ भन्ने हुँदैन। अहिले ५० हजारमा बिक्री भएको सामान १ महिनापछि ४० हजारमा झर्छ।’

केही महिनापछि सामान नै बिक्री हुँदैन। बुटवलमा कुनै समान बढी बिक्री हुन्छ भने नेपालगन्जमा कम बिक्री हुन सक्छ। डिजिटल माध्यमबाट कारोबार गर्ने भएकाले कुन सामान कहाँ बिक्रीको डाटा हुन्छ। जसबाट डिजिटल साहुजीमा जोडिनेले फाइदा लिन सक्छन्। 

‘जुन पसलमा सामान स्टक छ, उठाउने र जहाँ बिक्री भएको छ, त्यहाँ पु¥याउने’, उनी भन्छन्, ‘एक ठाउँमा भएको सामान अर्को ठाउँमा बिक्री गर्न सकिन्छ।’

ग्राहकले घरकै नजिक सामान खरिद गर्न चाहन्छन्। दोस्रो विकल्प अनलाइन हो। अनलाइनमा धेरै नै फ्रड (ठगी) हुनथालेको छ। फोटोमा राम्रो सामान देखाएको हुन्छ तर डेलिभरी हुँदा त्योअनुसारको गुणस्तर हुँदैन। 

डिजिटल साहुजीमा भने अर्डर आएका सामान डिलरबाटै बिक्री हुन्छ। वारेन्टी, ग्यारेन्टी नजिकको डिलरबाटै लिन सकिन्छ। 

अहिले आधिकारिक बिक्रेता वा आयातकर्ताले धेरै व्यवसायीसँग डिल गर्नुपर्छ। उधारोमा सामान दिनुपर्छ। बजारमा कुन सामान बिक्री भएको छ, कुन स्टकमा छ भनेर आयातकर्तालाई छुट्टाउनै अप्ठ्यारो छ। 

तर डिजिटल साहुजीमा भने अब सबैको आधिकारिक तथ्यांक हुन्छ। यसमा इम्पोर्टर, डिलर र ग्राहक सबै जोडिन्छन्। आईटी, इलेक्ट्रोनिक्स, ग्याजेट्ससम्बन्धी इम्पोर्टर जोडिन्छन्। 

आफूले वर्षौँदेखि गर्दै आएको काममात्रै गर्न लागेको उनी बताउँछन्।

डिल्ली बास्कोटा

बजार खोजेर बिक्री 
अहिले नेपालमा बिक्री भइरहेका कुन सामान कति समयदेखि बिक्री भइरहेका छन्। त्यसको तथ्यांक केलाइरहेको उनको भनाइ छ। 

न्यौपानेका अनुसार स्पोर्ट्स र स्टेसनरीका सामानबारे अध्ययन भइरहेको छ। सबै तथ्यांक केलाएपछि मात्रै ती प्रोडक्ट बेच्ने योजना छ। 

देशका मुख्य सहरमा डिजिटल साहुजीका शाखा हुनेछन्। नेपालभर २२ वटा शाखा खोल्ने योजना रहेको उनी सुनाउँछन्। बजारमा माग भएको सामान डिलरलाई दिइनेछ। 

व्यवसायलाई भरपर्दो र विश्वासिलो बनाउन ‘स्टक क्लियरेन्स एसुरेन्स’ गरिएको उनी बताउँछन्। योसँगै डिजिटल साहुजीसँग पसलले खरिद गरेको सामान फिर्ता हुन्छ। 

उनका अनुसार डिलर, सबडिलरले ‘रिस्क म्यानेजमेन्ट’को लागि छुट्टै रकम राखेका हुन्छन्। अब त्यसको जिम्मा डिजिटल साहुजीले लिन्छ।

त्यसले गर्दा कम मार्जिनमै प्रोडक्ट बिक्री गर्न सक्छन्। यसले ग्राहकसँगै व्यवसायीलाई समेत सहज हुने उनी बताउँछन्। 

‘अहिले इम्पोर्टरले एउटा मात्रै प्रोडक्ट आयात गर्छ। धेरै डिलर, सबडिलरलाई बिक्री गर्छ’, न्यौपानेका व्यावसायिक साझेदार डिल्ली बास्कोटा थप्छन्, ‘आयातकर्ताले धेरै ठाउँमा डिल गर्नुपरेन। डिलरले फरक फरक सामान एकै ठाउँबाट पाउँछ।’ 

अहिले आईटी प्रोडक्टमा मार्जिन घट्दै गएको छ। बजारमा टिक्नलाई बढाउनुपर्छ। ग्राहकको लागि छुट्टै र डिलरको लागि छुट्टै एप डिजिटल साहुजीमा छ। ग्राहकलाई बिक्री गर्ने सामान नै पसलबाटै बिक्री हुन्छ। 

त्यसकारण हरेक पसल नै डिजिटल साहुजी हुन्छन्। उनीहरुले डिलरसँग सेक्युरिटी डिपोजिट लिनेछन्। अरु आम्दानी प्रोडक्टबाट मार्जिन राखे पनि यसले डिलरलाई थप भार नपर्ने न्यौपाने बताउँछन्। 

आधिकारिक बिक्रेताबाट जतिमा खरिद गरेको छ, त्यतिमै डिजिटल साहुजीबाट पाउन सकिने उनको भनाइ छ। 

गोदाममा लामो समय सामान थन्क्याउँदा इम्पोर्टरको लागत बढेको हुन्छ। त्यसको समाधानस्वरुप डिजिटल साहुजीका काठमाडौंमा मुख्य वेयरहाउस र शाखा कार्यालयमा सामान हुन्छन्। 

‘हामीले जानेकै व्यवसाय गर्नको लागि हो। अनुभवी छौँ, बजारबाट भाग्दैनौँ’, उनले भने। 

टिम भिजन
न्यौपानेले आफ्नो कन्सेप्ट केहीलाई सुनाएका थिए। तर उनको सोच धेरैले बुझेनन्। 

लगानी गर्ने जोखिम लिन चाहेनन्। त्यसपछि आफ्नो भिजन सुनाउन छाडेर उनी सिस्टम बनाउनेतर्फ लागेका थिए। 

आफूले कमाएको पैसा सिस्टममै खर्च गरे। आफ्नो सोच सफल बनाउन फरक फरक अनुभव आवश्यक थियो। 

‘एउटा मात्रै सोचले असफल हुन सकिन्छ। कम्पनीको फाइदाको लागि फरक अनुभव स्वीकार्नुपर्ने हुन्छ’, न्यौपानेले भने।

त्योसँगै उनीसँग जोडिए दैलेखका डिल्ली बास्कोटा। सुर्खेतमा पढे बढेका। २०५० सालमा एसएलसी दिएर उनले रेडियो, घडी बनाउन सिकेका थिए। २०५२ मा केही नयाँ गर्ने सोचले काठमाडौं आएका बास्कोटा २०६० सालयता न्युरोडमा व्यापार गर्दै आएका छन्। 

‘सामान्य मानिसलाई हाम्रो कन्सेप्ट बुझाउन गाह्रो छ। एउटै सिस्टमले धेरै समस्या समाधान गर्न सक्छ र भन्ने धेरैको प्रश्न हुन्छ’, बास्कोटाले डिजिटल साहुजीको घोषणापछि बजार अनुभव सुनाए।  

साझेदारको रुपमा व्यवसायी सूर्य बीसी सीपीओ छन्। सीए सन्तोष पोखरेल सीएफओ छन्। सबैको फरक जिम्मेवारी छ। कम्पनीका सीएमटीओ डिल्ली बास्कोटा ट्रेनिङ र व्यवस्थापन हेर्छन्। 

‘हामीले एउटा विधि बनाएका छौँ। यहाँ खर्च गर्छौँ, यसरी गर्छौँ भन्ने रोडम्याप छ’, संस्थापक तथा प्रमुख कार्यकारी न्यौपाने भन्छन्, ‘व्यवसाय सुरु गरिहाल्यौँ, अब कसरी जाने भन्ने होइन। अहिले हामी तयारी गरेरै आएका छौँ।’

डिल्ली बास्कोटा

विद्यार्थीलाई व्यापारको ज्ञान र सीप
डिजिटल साहुजीले प्रोडक्ट मात्रै होइन सर्भिस पनि बेच्छ। सफ्टवेयर, एपको समेत डिजिटल साहुजीबाट बिक्री हुन्छ। 

अध्ययन गरिरहेका विद्यार्थीलाई डिजिटल साहुजीले व्यवसाय सिकाउनेछ। जसबाट विद्यार्थीले कमाउन सक्छन्। 

‘विद्यार्थी हुँदै सिक्नुपर्छ। पढाइ गरेपछि सिक्ने चलन छ’, उनले भने, ‘कमाइको स्रोत व्यवसाय हो। युवालाई जुन विषयमा चासो छ, त्यही सिकाउँछौँ।’

विद्यार्थीलाई सीपसँगै व्यवसाय सिकाउने उनको भनाइ छ। 

‘स्नातकोत्तर गरेको विद्यार्थीलाई टाइप गर्ने स्किल पनि हुँदैन। सामान्य विषय पनि थाहा नहुने धेरै छन्’, उनी भन्छन्, ‘एप, भिडिओ, वेबिनारमार्फत विद्यार्थीलाई सिकाउँछौँ। एकेडेमिक कोर्सले पैसा कमाइँदैन, सीपले कमाइन्छ।’ 

विद्यार्थीसँग थोरै शुल्क लिएर सिकाउने न्यौपानेको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .