ad ad

कारोबार


दूरसञ्चारका मुख्य फ्रिक्वेन्सी खाली : नयाँ कम्पनीलाई दिने कि पुरानैलाई बाँड्ने?

दूरसञ्चारका मुख्य फ्रिक्वेन्सी खाली : नयाँ कम्पनीलाई दिने कि पुरानैलाई बाँड्ने?

वसन्त अर्याल
फागुन २३, २०८० बुधबार ११:२२, काठमाडौँ

दूरसञ्चार क्षेत्रमा बढी प्रयोग हुने फ्रिक्वेन्सी खाली हुँदा नयाँ कम्पनीका लागि अवसर सिर्जना भएको छ। 

स्मार्ट, यूटीएल र हेलो नेपालले होल्ड गरेको फ्रिक्वेन्सी खाली भएसँगै नयाँ कम्पनीलाई सहज हुने भएको हो। 

हाल नेपाल टेलिकम र एनसेलले आफ्नो सेवा सञ्चालन गरिरहेका छन्। अब नयाँ कम्पनी आउन चाहेमा नेपालमा बढी प्रयोग भएको स्पेस नै पाउनेछन्। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले फ्रिक्वेन्सी प्रयोगविहीन हुँदा सरकारले राजस्व गुमाएको बताउँदै यसको प्रयोग बढाउनुपर्ने बताए। 

‘नेपालमा उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै प्रयोग भइरहेको छ’, प्राधिकरणको २६औँ वार्षिकोत्सवमा भण्डारीले भने, ‘फ्रिक्वेन्सीको माग र आपूर्तिको तालमेल नभएकाले नेपाल सरकारले प्राप्त गर्ने राजस्व गुमिरहेको छ।’

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सीमा ८०० देखि २३ सय मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्ड टेलिकम्युनिकेसनमा प्रयोग गरिरहेको छ।मोबाइलको इकोसिस्टममा ९०० र १८०० मेगाहर्ज ब्यान्ड सबैभन्दा बढी प्रयोग भइरहेका छन्। 

नेपालमा हाल ८०० मेगाहर्ज ब्यान्डमा १०, ८५० ब्यान्डमा १०, ९०० ब्यान्डमा ३५, १८०० मेगाहर्ज ब्यान्डमा ७५, २१०० मेगाहर्जमा ६० मेगाहर्ज पेयर्डमा रहेका छन्। २३०० ब्यान्डमा १०० मेगाहर्ज टीडीडी उपलब्ध छ। 

नेपालमा ३ वटा कम्पनीले फ्रिक्वेन्सी होल्ड गरिरहेका छन्। जसमा नेपाल टेलिकम र एनसेलको टेलिफोन सेवा सञ्चालनमा छ भने यूटीएलको सेवा बन्द भए पनि फ्रिक्वेन्सी होल्ड नै छ। हालै अदालतले दूरसञ्चार लाइसेन्स खारेज गरेसँगै यूटीएलको फ्रिक्वेन्सी खाली भएको छ। यसअघि स्मार्ट टेलिकम र हेलो नेपालले प्रयोग गरेका फ्रिक्वेन्सी समेत खाली भइसकेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणसँग ८०० ब्यान्डमा फ्रिक्वेन्सी खाली छैन। ८५० ब्यान्डमा ३.७५ प्रयोग हुँदा ६.२५ मेगाहर्ज बाँकी छ। ९०० ब्यान्डमा २४.२ प्रयोग हुँदा १०.८ मेगाहर्ज फ्रिक्वेन्सी खाली छ। १८०० ब्यान्डमा ५२ मेगाहर्ज प्रयोग हुँदा २३ मेगाहर्ज बाँकी छ। २१०० ब्यान्डमा २५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुँदा ३५ मेगाहर्ज खाली छ।    

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) सबै ब्यान्डका फ्रिक्वेन्सी प्रयोग गरेको छ। उसले २६०० ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी परीक्षणको लागि प्रयोग गरिरहेको छ। नेपालमा ७०० ब्यान्ड र सी ब्यान्डका फ्रिक्वेन्सी प्रयोगविहीन छन्। 

एनसेलले ३ वटा ब्यान्ड प्रयोग गरेको छ। जसअनुसार ९०० मा ९.६, १८०० मा २० र २१०० मा १५ (पेयर्ड) गरी ४४.६ मेगाहर्ज प्रयोग गरिरहेको छ। 

स्मार्ट टेलिकम, युनाइटेड टेलिकम र नेपाल स्याटेलाइटको लाइसेन्स खारेज हुँदा मुख्य फ्रिक्वेन्सी खाली भएको छ। फ्रिक्वेन्सी खाली हुँदा नयाँ टेलिकम्युनिकेसन कम्पनी आउनसक्ने प्राधिकरणले बताउँदै आएको थियो। 

‘पहिला अदालतको स्टे अर्डरले फ्रिक्वेन्सी होल्ड भएको थियो’, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा प्रदिप पौड्यालले भने, ‘अदालतले लाइसेन्स खारेज गर्ने निर्णयलाई सदर गरिसकेको छ।’

उनले अब यूटीएलले होल्ड गरेका फ्रिक्वेन्सीको विषयमा प्राधिकरणले निर्णय गर्ने बताए। 

‘डुओपली मोनोपली बजारभन्दा खराब’
दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले २ वटा कम्पनी मात्रै हुँदा प्रतिस्पर्धा नभएको बताए। उनले विश्वका अन्य देशको तुलनामा नेपालको टेलिकम शुल्क महंगो नभए पनि नेपालीको आम्दानीअनुसार बढी भएको बताए। 

‘इन्टरनेट सेवामा प्रतिस्पर्धा भए पनि दूरसञ्चार बजारमा प्रतिस्पर्धा छैन’, कार्यक्रममा उनले भने, ‘२ वटा मात्रै सेवा प्रदायकले काम गरिरहेको अवस्थामा डुओपोली बजार एकात्मक बजारभन्दा पनि खराब हुन्छ।’ 

पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्स एप लगायतको कारण टेलिकम कम्पनीहरुको आम्दानी घटेको उनको भनाइ छ। 
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले बजारमा इन्टरनेटको जस्तो प्रतिस्पर्धा टेलिकममा सम्भव नहुने बताए। 

‘लाइसेन्स, फ्रिक्वेन्सी र नवीकरण दस्तुर बढी रहेकाले टेलिकममा धेरै कम्पनी आउनै सक्दैनन्’, खनालले भने, ‘अहिलेको अवस्थामा मूल्यमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन, व्यापार घटिरहेको छ। गुणस्तरमा प्रतिस्पर्धा गर्नको लागि थप फ्रिक्वेन्सी आवश्यक हुन्छ। लगानी बढाउन सक्ने अवस्थामा कम्पनी छैनन्।’

उनले दूरसञ्चार कम्पनीमा प्रतिफल नहुँदा लगानी बढाउन सक्ने अवस्था नरहेको बताए।  

लाइसेन्स र नवीकरण दस्तुरले नयाँ कम्पनी आउनै अप्ठ्यारो
नेपालको टेलिकम बजारमा लामो समयदेखि लाइसेन्स खोजेको चौधरी ग्रुप हो। चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले टेलिकम क्षेत्रमा प्रतिस्पर्धा नहुँदा ग्राहकले धेरै पैसा तिर्नुपरेको बताउँदै आएका छन्। 

नेपालमा १०–११ वर्षदेखि टेलिकम क्षेत्रमा आउन खोजे पनि विभिन्न कारणले आउन नसकेको उनको भनाइ छ। 

‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन?’, एनसेलको सेयर खरिदबिक्री प्रकरणपछि गत मंसिर २१ गते सामाजिक सञ्जाल एक्समा चौधरीले लेखेका थिए, ‘आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्।’

सीजीले भारतमा जिओको जस्तै भ्वाइस र डाटा सस्तो बनाउने बताउँदै आएको छ। भारतमा जियो आएसँगै त्यहाँ टेलिकम क्षेत्रमा धेरै अघि बढेको छ। जियोले डाटा सस्तो गर्नेबित्तिकै थुप्रै नयाँ व्यवसाय सुरु भएका छन्।  नेपालमा चौधरी ग्रुपले अहिले पनि टेलिकमको लाइसेन्स लिन चाहेको जनाएको छ। 

‘१० वर्षदेखि लाइसेन्स लिएर सस्तोमा सेवा उपलब्ध गराउन खोजेको हो’, सीजी ग्रुपका एक अधिकारी भन्छन्, ‘बजारमा नयाँ कम्पनी आउँदा प्रमुख दाबेदार सीजी टेलिकम हुन्छ।’

पूर्ववरिष्ठ निर्देशक खनालले नेपालको जनसंख्या, तिनले महिनामा गर्न सक्ने खर्च हेरेर नयाँ लाइसेन्सको निर्णय गर्नुपर्ने बताए। 

फ्रिक्वेन्सी, रोयल्टी, आयात राजस्व, आयकर, लाइसेन्स फि, नवीकरण दस्तुर तिर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ छ।

‘सबै विषयका हिसाब निकाल्दा कति वर्षमा लगानी उठ्छ र कम्पनी नाफामा जान्छ भन्ने हेर्नुपर्छ’, खनाल भन्छन्, ‘अहिले मोबाइल अपरेटरको आम्दानी घटिरहेको अवस्थामा नयाँ कम्पनी टिक्न सक्ने देखिँदैन।’

सरकारले टेलिकम कम्पनीमाथि लगाएको दायित्व कम नगर्दासम्म नयाँ कम्पनी आउने सम्भावना कम छ।  

‘कम्पनीले जति कमाए पनि सरकारी दायित्वमै खर्च गर्नुपर्ने अवस्थाले नयाँ कम्पनीको परिकल्पना गर्न सकिँदैन’, उनी भन्छन्, ‘गत आर्थिक वर्षमा नेपाल टेलिकम सञ्चालन घाटामा थियो। बैंकको ब्याजले नाफा कायम भएको छ। एनसेलको पनि व्यापार घट्दो छ।’

उनका अनुसार भ्वाइसको आम्दानी लगातार घट्दो छ। मोबाइल ब्रोडब्यान्ड अर्थात् इन्टरनेट डेटाबाटै कम्पनीहरुले आम्दानी गर्दै आएका छन्। 

नयाँ कम्पनीले लाइसेन्स लिने दिनबाटै दायित्व सिर्जना हुने भएकाले नाफा कमाउने निश्चित नभई नयाँ कम्पनी आउने सम्भावना कम रहेको खनाल बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .