कारोबार


प्रकाशशरणको दाबी : अर्थतन्त्रलाई लयमा फर्काउन अथक प्रयास गरेँ

प्रकाशशरणको दाबी : अर्थतन्त्रलाई लयमा फर्काउन अथक प्रयास गरेँ

नेपालखबर
फागुन २९, २०८० मंगलबार १६:६, काठमाडौँ

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले अर्थतन्त्रका सूचकहरू नकारात्मक नरहेकामा लयमा फर्काउन आफूले मिहिनेत गरेको पनि प्रष्ट पारे।

'मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो। मिहिनेतका साथ लयमा ल्याएका थियौँ। नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ', उनले भने, 'अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ।'

डा. महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए।

'कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ', उनले भने, 'अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ।' 

उनले गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताएका थिए।

महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गरे।

राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता आफूले स्थापित गरेको पनि उनले बताए। 

सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उनले उल्लेख गरे।

आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार रहेको महतले बताए। उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी पनि उनले गरे। 

पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरेको पनि उनले बताए। डा. महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गरे।

अर्को एक फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको बताए। कांग्रेसको गोदावरीमा भएको महासमिति बैठकले पनि त्यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .