कारोबार


७ अर्ब लगानीमा चितवनमा ५० हजार पर्यटक अट्ने ‘एम्युजमेन्ट पार्क’ बनाउने यस्तो छ योजना

७ अर्ब लगानीमा चितवनमा ५० हजार पर्यटक अट्ने ‘एम्युजमेन्ट पार्क’ बनाउने यस्तो छ योजना

प्रतिनिधिमूलक तस्बिर, इन्सेटमा प्रस्ताविक पार्कको नक्सा


वसन्त अर्याल
बैशाख ८, २०८१ शनिबार ७:१८, काठमाडौँ

चितवनको बाघमारामा करिब ७ अर्ब रुपैयाँ लगानीमा एम्युजमेन्ट पार्कको योजना अघि सारिएको छ। सहरी विकास तथा भवन निर्माण विभागले नेपालीसँगै भारतीय पर्यटकलाई लक्षित गर्दै एम्युजमेन्ट पार्कको अवधारणा अघि सारेको हो। 

नेपालमा हाल सामान्य पार्क भए पनि ठूला पार्क बनेकै छैनन्। बाघमाराको खाली ठाउँमा पार्क बनाउन सकिने गरी परिकल्पना गरिएको छ। विभागले योजना बनाई सम्भाव्यता अध्ययन गर्दै छ। 

भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बाघमारा क्षेत्रमा पार्क निर्माण गर्ने योजना छ। 

‘चितवनको बाघमारा क्षेत्रमा एम्युजमेन्ट पार्क बनाउन सकिन्छ भन्ने हाम्रो परिकल्पना हो,’ सहरी विकास विभागका सीडीई विश्वराम प्रजापतिले भने, ‘अहिले पूर्ण अध्ययन भइसकेको छैन। कति क्षेत्र ओगट्ने भन्ने पनि टुंगिएको छैन।’

पार्कको दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज, पश्चिममा टिकौली जंगल, उत्तर र पूर्वमा आवासीय तथा खेतीपातीको क्षेत्र रहेको छ। भारतपुर विमानस्थलबाट करिब १० किलोमिटरको दूरीमा हुनेछ पार्क। पूर्वपश्चिम राजमार्गबाट सहजै पुग्न सकिनेछ। 

सौराहा पर्यटकीय क्षेत्र भएकाले एम्युजमेन्ट पार्क व्यावसायिक रूपमा चल्न सक्ने आकलन गरिएको छ। जनसंख्या, पर्यटकीय सम्भाव्यता, जग्गाको उपलब्धता र सहयोगी पूर्वधारका कारण यो क्षेत्र उपयुक्त हुन सक्ने ठानिएको हो।

पार्क निर्माणका लागि विभागले ६ अर्ब ८४ करोड रुपैयाँ लागत अनुमान गरेको छ। दैनिक ५० हजार पर्यटक लैजान सकिने र लगानीको रकम करिब ७ वर्षमा उठाउन सकिने विश्लेषण छ।

‘निजी क्षेत्रबाट लगानी जुटाउने गरी अध्ययन भइरहेको छ,’ विभागका सिनियर इन्जिनियर प्रजापतिले भने, ‘सम्भाव्यता अध्ययनसँगै लगानी मोडालिटी टुंगिएला।’

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा चितवन पनि पर्ने भएकाले पार्कलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने सरकारी बुझाइ छ। पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै भरतपुर विमानस्थलमा ७२ सिटे एटीआर जहाज उडान तथा अवतरण गर्न सक्ने गरी विस्तार भइरहेकाले ठूलो पार्क निर्माणको सम्भावना रहेको विभागको निष्कर्ष रहेको छ। 

५० हजार पर्यटक क्षमताको पार्क 
एकैपटक ५० हजार पर्यटक अट्न सक्ने क्षमताको पार्क निर्माण गर्ने योजना बनाइएको छ। पार्कमा ४ हजार ५०० गाडी पार्किङ, ६ हजार मोटरसाइकल र एक हजार पर्यटक बस राख्न सकिनेछ। 

योजना अघि बढेमा विभिन्न प्रयोगका लागि पोखरी र थ्रिलिङ राइड्सको अनुभव लिन सकिने पूर्वाधार बनाइनेछ। 

पार्कमा अपर मुस्ताङ एडभेन्चर रेलरोड, राजमहल, वाटरलेन्ड,  ट्री टप एडभेन्चर, वाटर टावर, जम्पिङ ज्याकल राइड, हन्टेड हाउस, सर्कस केन्द्र, क्यासिनोसहितका सम्भावित सुविधा उपलब्ध गराउनेबारे छलफल भइरहेको छ।

यसबाहेक सांस्कृतिक यात्रा, पिकनिक क्षेत्र, फार्म क्षेत्र, पुस्तक कुञ्ज, भरतपुर गाडी, टुर टु फोरगोटन ल्यान्ड सहितका अवधारणा राखिएको छ। 

पर्यटक बस्नको लागि पार्कभित्र एक हजार सुइट्स, हजार कटेज र १ हजार ५०० कोठा हुनेछन्। हाटबजार तथा क्याफे एरिया छुट्टै हुनेछ। 
मनोरञ्जनका लागि बच्चा बगैंचा,  रोधीघर, कार्ट ड्राइभिङ क्षेत्र, रोलर–कोस्टर राइड, बालबालिकाका लागि जिपलाइन, स्वीङ, ट्री हाउस हुनेछन्। इन्डोर प्ले एरिया पनि योजनामा रहेको छ। 

पार्कमा स्थानीय बासिन्दा, आन्तरिक पर्यटक, छिमेकी मुलुकका पर्यटक र धार्मिक यात्रुलाई लक्षित गरी पर्यटक प्याकेजमा राख्न सकिनेछ। भारतका पटना, मुज्जाफुर, समस्तीपुर, गोरखपुर, अयोध्या लगायतका सहरबाटै पनि धेरै पर्यटक ल्याउन सकिने विभागको आकलन छ। 

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका प्रमुख चन्द्र ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समेत चितवन आसपासमा एम्युजमेन्ट पार्क बनाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

करिब १० अर्ब रुपैयाँ लगानीको पार्क बनाउने समझदारी गरे पनि कुन ठाउँमा कति क्षमताको भन्ने खुलाइएको छैन। 

  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .