कारोबार


रारामा भित्रियो अस्ट्रेलियाली लगानी, पहिलो लक्जरी रिसोर्ट बनाउने सम्झौता

रारामा भित्रियो अस्ट्रेलियाली लगानी, पहिलो लक्जरी रिसोर्ट बनाउने सम्झौता

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:४९, काठमाडौँ

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।

काठमाडौंमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्। 

मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए।

समुद्री सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।

उनले भने, ‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’

आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ। एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै, एक्सपर्ट ग्रपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .