सार्वजनिक स्वास्थ्यमा प्रतिकूल हुने सुर्तीजन्य वस्तु उत्पादन गर्दै आएको सूर्य नेपाल प्रालिले बढी कर तिरेकै नाममा आफूअनुकूल काम गर्न कर कार्यालयहरुलाई धम्की दिने गरेको पाइएको छ। ढुसी आएर बिग्रेको सुर्ती र मोलासिस आफ्नै विवरणलाई एकीन गरी नष्ट गर्न सूर्य नेपालले कर अधिकृतलाई दबाब दिने गरेको हो।
मोलासिस भनेको उखुको रसबाट चिनी उत्पादनको प्रक्रियामा निस्किने गुड वा कालो बाक्लो रस हो। सूर्य नेपालले उत्पादन गर्ने चुरोटमा प्रयोग गर्ने सुर्ती र मोलासिस बिग्रिएर केही वर्षदेखि भण्डारण (स्टोरेज) भएको छ।
सूर्य नेपाल प्रालि पूर्वराजा ज्ञानेन्द्र शाह समूहको समेत स्वामित्व रहेको कम्पनी हो।
२०६४ देखि स्टोरेज भएका ती वस्तु नष्ट गर्न कम्पनीले निरन्तर ताकेता समेत गर्दै आएको छ। तर उसले तिनलाई नष्ट गर्न सरकारलाई नै शर्तहरु राखेको छ। नष्ट गर्ने वस्तुको परिमाण सरकारले तोक्न नपाउने र कम्पनीले भनेको गर्नुपर्ने सूर्य नेपालको प्रमुख शर्त छ। त्यस्तै एक किलो सुर्ती बराबर कति चुरोट उत्पादन हुन्छ, त्यसको विवरण समेत उल्लेख नभई नष्ट गराउनुपर्ने माग उसको छ।
पछिल्लो समय सूर्य नेपालले नष्ट गर्न चाहेको आयातित ढुसी आएको सुर्ती ४ हजार ८ सय किलो, स्थानीय सुर्ती १ लाख किलो, मोलासिस ७ सय २३ किलो, शिखर चुरोट ४ हजार २० एम रहेको छ। योे सूर्य नेपाल आफैँले कर कार्यालयमा पुर्याएको तथ्याङ्क हो।
यही आधारमा विना चेकजाँच नष्ट गर्ने अनुमति प्रदान गर्न कर कार्यालयलाई सूर्य नेपालले दबाब दिएको खुलेको हो। नष्ट गर्न खोजिएका ती वस्तु कम्पनीको सिमरा र दमौली कार्यालयमा छन्। दुवै स्थानमा रहेका आन्तरिक राजस्व विभागअन्तर्गतको कर कार्यालयलाई कम्पनीले अहिले दबाब दिइरहेको छ।
सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसीले कहिले फोनबाट त कहिले कार्यालयमा नै आएर कर कार्यालयका अधिकारीलाई ‘तिमी’ सम्बोधन गर्दै धम्कीको भाषामा थर्काउने गरेको एक कर अधिकृतले नेपालखबरलाई बताए।
नाम उल्लेख गर्न नचाहने ती अधिकृतले केसीलाई उद्धृत गर्दै नेपालखबरसँग भने, ‘हामी देशमै धेरै कर तिर्ने कम्पनी हौँ, हामीले भनेको नमान्ने तिमीहरु को हौ भनेर थर्काउने गरेका छन्।’
अन्तःशुल्क लाग्ने वस्तु नष्ट गर्नु भनेको सरकारको सम्पत्ति नष्ट गरेबराबर हो। त्यसमा सूर्य नेपालले अन्तःशुल्क तिरेर किनेपछि नष्ट गर्दा अन्तःशुल्क रकम पनि फिर्ता गर्नुपर्ने हुन्छ।
‘अझ कुनै आधारविना नष्ट गर्दा पछि आफैँ फसिएला भन्ने डर छ’, ती अधिकृतले गुनासो गर्दै भने, ‘यसले एकातर्फ आफ्नै करिअर बर्बाद होला भन्ने डर छ भने नष्ट गर्न अनुमति प्रदान नगर्दा रवि केसीले टर्चर दिने गरेका छन्।’
सूर्य नेपालले दादागिरी शैली देखाएपछि कर कार्यालयहरूले दबाब महसुस गरिरहेका हुन्। यति मात्रै होइन, केसीले विभागका केही वरिष्ठ कर्मचारी तथा अर्थ मन्त्रालयका कर्मचारी समेतबाट कर कार्यालयमा फोन गराएर दबाब दिने गरेका छन्। मन्त्रालयस्तरबाटै कम्पनीको पक्षमा लबिङ आएपछि सम्बन्धित कार्यालयका अधिकारीले चर्को दबाब भोग्नुपरेको छ।
सचिव, सहसचिवजस्ता वरिष्ठ कर्मचारीले आफ्नो चाहनाअनुसार काम गराउने र तलका कर्मचारीलाई फसाउने गरेका धेरै उदाहरण रहेकाले दबाबका बाबजुद नष्टको अनुमति प्रदान गर्न नसकिएको ती अधिकृत बताउँछन्।
उनले भने, ‘विभाग तथा मन्त्रालयको फोन आउँदा उनीहरुलाई नै कति परिमाणमा नष्ट गर्ने हो, त्यो निर्धारण गरिदिनुपर्यो भन्ने गरेका छौँ।’
यसको साथै एक किलो बराबर कति चुरोट उत्पादन हुन्छ, त्यो समेत निर्धारण गरिदिन कार्यालयका अधिकारीले दबाब दिने अधिकारीलाई आग्रह गर्दै आएका छन्।
यसबारे बिहीबार सूर्य नेपालको धारणा जान्न खोज्दा केसी सम्पर्कमा आउन चाहेका छैनन्।
अन्तःशुल्क लाग्ने सुर्ती तथा उखुको सहउत्पादन (मोलासिस) खरिद गर्दा सूर्य नेपालले अन्तःशुल्कबापतको रकम समेत जोडेर खरिद गरेको हुन्छ। तर चुरोट उत्पादन भएपछि सो अन्तःशुल्क रकम कटौती हुने गरी बिक्री गर्छ। चुरोटको प्याकेजमा अन्तःशुल्क स्टिकर टाँसिएको हुन्छ।
तर सूर्य नेपालले स्थानीयसँग लिएको सुर्तीमा भने अन्तःशुल्क तिर्दैन। साथै उसले कति परिमाणबाट कति चुरोट उत्पादन हुन्छ भन्ने समेत खुलाउन चाहँदैन। यो सबै कुरा स्पष्ट पार्न कर कार्यालय सिमराले आन्तरिक राजस्व विभागमा पत्र समेत लेखेको छ।
सूर्य नेपालको दबाब र कति रकम सूर्य नेपालको अन्तःशुल्कमा कटौती गर्ने भन्नेबारे एकीन गर्न विभागलाई पत्र लेखेको कार्यालय स्रोत बताउँछ। अहिले सूर्य नेपाललाई कर कार्यालयले ‘माथिको आदेश आएमा नष्ट गर्न सकिने’ प्रत्युत्तर दिइरहेको छ तर रवि केसीले दबाब दिन छोडेका छैनन।
सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी हो। यसमा आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत, ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको २ प्रतिशत र नेपाली लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व छ। नेपाली लगानीकर्तामध्ये पूर्वराजा ज्ञानेन्द्र शाह समूहको १ हजार ४ सय ८ कित्ता सेयर रहेको छ।

प्रतिक्रिया