कारोबार


सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन

सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १७:८, रसुवा

६ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ। 

भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो।

प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज भएको छ।

नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो। त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। 

उक्त प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि  राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ। प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र अब परीक्षण प्रसारण थालिने जानकारी दिए।

प्रसारण लाइनको कूल लागत रु तीन अर्ब ६२ करोड बराबर छ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो। भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो। 

प्रसारण लाइन पूरा भएसँगै एक सय ११ मेगावाट रसुवागढी, ४२ दशमलव पाँच मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान, त्रिशूली थ्रिबिको ३७ दशमलव तीन मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad