कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवर्द्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन्।
याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए। उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चौँरी पालन भएको स्पष्ट पारे।
चौँरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ। याक र चौँरी पर्यटन प्रवर्द्धनको समेत आकर्षण केन्द्र भएको बताए। उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए।
उनले चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताए। याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ।
उनले भने, ‘कठोर हिमाली परिवेशमा पनि सहजै अनुकुलन गर्नसक्ने सिमित आहार र प्रतिकुल मौसमका बाबजुत उत्पादन दिन सक्ने र गोठालासँग जीवन बाँड्दै दिनरात चरणमा घुम्ने याक चौँरी हाम्रा पहिचान, गौरव र धरोहर हुन्। नेपालको हिमाली क्षेत्रले देशको करिव ३५ प्रतिशत भूभाग ओगटेको छ। त्यहाँ बसोवास गर्ने समुदायको जीविकोपार्जनको मूल आधार नै याक चौँरी पालन हो। हिमाली जनजीवनमा याक चौँरी बहुउपयोगी पशु हुन्।’
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताए। उनले याक तथा चाैँरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने बताए।
उनले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिनुभयो। दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उनको भनाइ छ।
याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो।
Shares

प्रतिक्रिया