चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अष्ट्रेलिया उड्दैछ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ। निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो। मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ।
वाइडबडी जहाजले अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए। उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिए।
वाइडबडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ। चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ।
यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो। हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। रासस

प्रतिक्रिया