नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियानको थालनी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए। बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गर्ने, त्यहाँ वरिपरिका सब–स्टेसन र वितरण केन्द्रको अनुगमन गर्नेजस्ता काममा मध्यरातसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए।
आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत् खपत र नियमित महशुस भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालयअन्तर्गतका उत्कृष्ट १० अत्यन्त महत्त्वपूर्ण उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमका लागि लागि विराटनगरमा आयोजित कार्यक्रममा पुगेका शाक्यले उक्त कार्यक्रमसँगै सरोकारवालाहरुसँग छलफल गरेका हुन्।
शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाउन पनि आफू अभियानकै रुपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान खोज्ने गरी निस्किएको जानकारी दिए।
‘प्राधिकरणको प्रमुख ध्यान नै विश्वसनीय विद्युत आपूर्तिमा छ’, शाक्यले भने, ‘विराटनगरमा पनि बिहीबार मध्यरातसम्म सरोकारवालाहरुसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनीयता, नियमित विद्यूत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ।’
‘कोशी प्रदेशका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर उहाँहरुको प्रगति विवरण, त्यहाँ देखिएको समस्या र समाधानका उपायहरुसँग केन्द्रित भएर छलफल गरेको छु,’ शाक्यले भने, ‘नियमित विद्युत आपूर्ति, विद्युतको विश्वसनीयता र ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्न निर्देशन पनि दिएको छु।’
प्राधिकरणको नेतृत्वसँग यसरी आफ्ना गुनासा र समस्याहरु सुनाउँदा पाउँदा र नेतृत्वले पनि योजनासहित समस्याको पहिचना गरी समाधानको उपाय खोज्ने बताउँदा खुसी लागेको भन्दै प्राधिकरणको सकारात्मक अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको शाक्यले जानकारी दिए। उनीहरूले पनि यसरी प्राधिकरणको नेतृत्वले आएर कुराकानी गर्दा खुशी व्यक्त गरेका छन्।
उनले विद्युत् आपूर्तिमा समस्या भएको भनिएका औद्योगिक क्षेत्रसँगै त्यहाँका वितरण केन्द्रहरूको पनि गहिरो गरी अनुगमन गरी प्राविधिक समस्याको समेत पहिचान गरी अघि बढ्ने र अभियानलाई निरन्तरता दिने जानकारी दिए।
‘यो अभिानको सुरुवात विराटनगरबाट गरेका छौँ। अब वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका स्थानहरुमा पनि हामी यो अभियानलाई निरन्तरता दिन्छौँ’, शाक्यले भने, ‘हामीले बुझेको समस्या एक खालको हुन्छ । उद्योगी र उपभोक्ताहरुका समस्या र गुनासा हामीले बुझेको भन्दा फरक पनि हुनसक्छन । त्यसैले हामी उहाँहरुका पनि समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ ।’
उनले यो अभियान छलफल मात्रै नभई समाधानको खोजी पनि भएको उल्लेख गरे।
‘समाधानका लागि हामी जहाँ–जहाँ पुग्छौँ । ती ठाउँ वरिपरिका क्षेत्रका सवस्टेशन र वितरण केन्द्रहरुको अनुगमन गरेर त्यहाँका प्राविधिक समस्याहरुको पनि जानकारी लिन्छौँ,’ उनले भने, ‘कोशी प्रदेशमा पनि मैले चार वटा सवस्टेसन र केही वितरण केन्द्रहरुको अनुगमन गरेँ। अन्य ठाउँमा पनि वितरण केन्द्रका प्रमुखहरु र उद्योगीहरुसँग छलफल गर्ने, त्यहाँका सबस्टेसन र वितरण केन्द्रको अनुगमन गर्ने कामलाई निरन्तरता दिन्छौँ।’
Shares

प्रतिक्रिया