कारोबार


‘टेक एन्ड पे’ फिर्ता गराउन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक सयौँ एसएमएस

‘टेक एन्ड पे’ फिर्ता गराउन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक सयौँ एसएमएस

नेपालखबर
असार ७, २०८२ शनिबार ११:१३, काठमाडौँ

सरकारले बजेटमा ल्याएको विद्युत् खरिद सम्झौतामा 'टेक एन्डे पे' (लेऊ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन्।

उनीहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत शनिबार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौँ ऊर्जा उद्यमीले टेक एन्ड पे फिर्ता लिन माग गर्दै एसएमएस गरेका हुन्।

टेक एन्ड पे पीपीएको व्यवस्था ऊर्जामा निजी क्षेत्रको लगानी बन्द गर्ने गरी ल्याइएको भन्दै उनीहरूले एसएमएसमा "ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एन्ड पे पीपीए खारेज गर" लेखेका छन्।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) टेक एन्ड पे अवधारणाअनुसार मात्र गरिने उल्लेख गरेदेखि नै ऊर्जा उद्यमीहरूले विरोध गर्दै असार ६ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन्।

ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यवाहक अध्यक्ष एवं इप्पान आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले टेक एन्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए।

डाँगी नेतृत्वको आन्दोलन समितिले आन्दोलनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलालाई भेटेर ज्ञापन पत्र बुझाएको थियो भने आन्दोलनको तेस्रो दिन असार ८ गते बिहान ११ बजे सामाजिक सञ्जालमा सबैले एकैपटक टेक एन्ड पे पीपीए हटाउन सन्देश लेखेर दबाब दिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad