काठमाडौंबाहेक ५ महानगरपालिकाले बजेट ल्याएका छन्।
स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्थाअनुसार काठमाडौंबाहेकका पाँचवटा महानगरहरुले कुल २८ अर्ब ९३ करोडको बजेट ल्याएका हुन्।
देशको राजधानी रहेको काठमाडौं महानगरले सबैभन्दा ठूलो बजेट विनियोजन गर्दै आएको थियो। तर मेयर बालेन्द्र शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंको विवादले कार्यपालिका बैठक बस्न नसक्दा बजेट ल्याउन नै सकेन।
उपत्यकाकै ललितपुर महानगर, भरतपुर महानगर, पोखरा महानगर, वीरगन्ज महानगर र विराटनगर महानगरपालिकाले बजेट ल्याएका छन्।
महानगरहरुले केन्द्र सरकारको स्रोतलाई आधार मानेर आफ्नो बजेट पेस गरेका छन्।

ललितपुरको ७ अर्ब ४७ करोडको बजेट
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ। चालू आर्थिक वर्षमा ललितपुरले ल्याएको ७ अर्ब ४६ करोड रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ।
आगामी आवमा स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ४१ करोड, बागमती प्रदेशबाट १८ करोड २७ लाख प्राप्त गर्ने अनुमान गरिएको छ। आन्तरिक स्रोतको रुपमा ३ अर्ब ७१ करोड, अन्तर्सरकारी अख्तियारीबाट ९५ करोड र नगद मौज्दातबाट १ अर्ब १२ करोड रुपैयाँ व्यहोरिनेछ।
ललितपुर महानगरपालिकाले विदुतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति करमा ५ प्रतिशत छुट दिने भएको छ। निजी खाली जग्गामा जग्गाधनीसँग सम्झौता गरी नर्सरी, तरकारी, फलफूल खेती गर्ने कृषकलाई महानगरपालिकाबाट लिइने बहाल करमा छुट दिने प्रस्ताव गरिएको छ।

पोखरा महानगरको झण्डै १ अर्बले बढ्यो
आगामी आर्थिक वर्षको लागि पोखरा महानगरपालिकाले ८ अर्ब ३८ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरले असार ८ गते नै आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएको हो।
आगामी वर्ष चालू आर्थिक वर्षको तुलनामा ८६ करोड रुपैयाँ बजेट बढाएको छ। चालू आवमा ७ अर्ब ५१ करोड रुपैयाँ बजेट ल्याएको थियो।
आगामी बजेटको स्रोतमा ३ अर्ब १ करोड ८१ लाख संघीय सरकारको अनुदानबाट र ५ अर्ब २३ करोड ३१ लाख आन्तरिक आयबाट व्यहोर्ने उल्लेख छ।
महानगरले कुल बजेटको २ अर्ब ३३ करोड रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरेको छ। नगर कार्यपालिकाको कार्यालयलाई ९५ करोड दिएको पोखराले सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडामार्फत खर्च गर्न १ अर्ब र सहरी विकास, पर्यटन, वन तथा वातावरणमार्फत ३८ करोड बजेट विनियोजन गरेको छ।
महानगरले आगामी वर्षका लागि हरित उत्थानशील र दिगो पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी सन्तुलित र समतामुलक विकास, संस्थागत विकास र सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

भरतपुर महानगरपालिकाले घटाएर ल्यायो बजेट
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालू आर्थिक वर्षभन्दा कम बजेट विनियोजन गरेको छ।
चालू आवका लागि ५ अर्ब ४६ करोडको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको हो।
यसको लागि आयतर्फ आन्तरिक आय १ अर्ब ८० करोड, अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड, संघ राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख गरी ४५ करोड ९५ लाख रहेको छ।
जनसहभागिता/श्रमदानबाट ५ करोड बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने महानगरले अनुमान गरेको छ।
स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ। कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन गरेको महानगरले शिक्षा विकासतर्फ १० करोड ५० लाख, खाल्टाखुल्टी मर्मतको लागि ४ करोड छुट्याएको छ।
स्वास्थ्य परीक्षण स्क्रिनिङ कार्यक्रमलगायत स्वास्थ्य सेवाको लागि ३ करोड विनियोजन गरेकी छिन्। महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशुलमा अनुदान, फोहोर संकलन तथा हरियाली प्रवद्र्धनको लागि ४ करोड छुट्याएको छ।
युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय सुरु गर्न बीउपुँजी अनुदानलगायत कार्यान्वयन गर्न १ करोड, महिला उद्यामीलाई प्रोत्साहन गर्न १ करोड छुट्याइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधूरो कार्य पूरा गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ।
महानगरपालिकाको प्रशासनिक भवन निर्माणसँगै इन्टेरियरको कामका लागि ४ करोड बजेट व्यवस्थापन गरिएको छ।

वीरगन्जको ३ अर्ब २२ करोड विनियोजन, रेल म्युजियम बनाउने
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ।
महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।
चालू आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो। आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रहेको उल्लेख छ।
बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने उल्लेख छ।
वीरगन्ज महानगरले प्रवद्र्धनका साथै शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले ‘अलौ पर्व संग्रहालय’ र ‘रेल्वे म्युजियम’ निर्माण योजना अघि सारेका छन्।
वीरगन्ज नेपालको पहिलो रेल सेवा प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेल्वे सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनर्प्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माणको कार्य अगाडि बढाइने योजना ल्याएका छन्।

विराटनगर महानगरपालिकाको ४ अर्ब ४० करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० करोड बजेट सार्वजनिक गरेको छ।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित व्ययतर्फ पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख विनियोजन गरेकी छिन्।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावाँब्याज भुक्तानीका लागि ५ करोड, चालू आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरुका लागि ८ करोड विनियोजन गरिएको बताएकी छन्।
महानगरले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ३४ करोड ३४ लाख, प्रदेश सरकारबाट ३ करोड ६२ लाख, मूल्यअभिवृद्धि करबाट १५ करोड, अन्तःशुल्कबाट ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापनमा १ करोड र सवारी कर ३ करोड ८ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ९४ करोड ६० लाख आम्दानी हुने अनुमान छ। त्यस्तै, आन्तरिक स्रोतबाट १ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
त्यसैगरी, संघीय सरकारबाट सशर्त तथा समपूरक अनुदानतर्फ ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, नगद मौज्दातबाट १४ करोड प्राप्त हुने अनुमानसहित कुल आय ४ अर्ब ४० करोड रहेको छ।
भौतिक पूर्वधारतर्फ समपूरक योजनाहरुका लागि ६ करोड २० लाख, गौरवका आयोजना निर्माणधिन योजनाहरुको लागि ७० करोड बजेट गरिएको छ। नगरका विभिन्न सडक मर्मत सम्भारकालागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख छुट्याइएको छ।
वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरेको छ। विषयगत क्षेत्रमध्ये सामाजिक विकासतर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख विनियोजन गरिएको छ।
Shares

प्रतिक्रिया