संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत नेपालमा कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेन्ज कम्प्याक्टअन्तर्गतका परियोजनालाई निरन्तरता दिने भएको छ।
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले अमेरिकाले यसबारे पुनरवलोकन कार्य सकेको र नेपाल कम्प्याक्टको निरन्तरताको लागि सिफारिस भएको जानकारी प्राप्त भएको बताए।
यसैबीच, नेपालमा रहेको अमेरिकी दूतावासले एमसीसीले निरन्तरता पाउने जनाएको छ।
‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौँ’, दूतावासले एक सूचनामा भनेको छ, ‘पचास करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछन्।’
नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै अमेरिकाले अधिकांश देशलाई दिइँदै आएको बाह्य सहयोग रोकेको थियो। ९० दिनका लागि समीक्षा नगरुन्जेल सहयोग रोक्का राखिएको थियो।
यद्यपि नेपालमा भने एमसीसीलाई निरन्तरताको छुट मिलेको थियो।
Shares

प्रतिक्रिया