कारोबार


फ्रान्सेली कलेज एलआईजीएमआरको स्क्याममा नेपाली विद्यार्थी : न पढ्न जान पाए, न तिरेको लाखौँ रकम फिर्ता

झण्डै सय विद्यार्थीबाट करोड बढी असुलेर अफलाइन भयो कलेज
फ्रान्सेली कलेज एलआईजीएमआरको स्क्याममा नेपाली विद्यार्थी : न पढ्न जान पाए, न तिरेको लाखौँ रकम फिर्ता

इन्सेटमा कलेजको लोगो र प्रतिनिधिमूलक एआई तस्बिर


सम्झना घिमिरे
साउन १६, २०८२ शुक्रबार १३:२८, काठमाडौँ

जनकपुरका २२ वर्षीय रवीन्द्र ठाकुर (नाम परिवर्तन) उच्च शिक्षाका लागि विदेश जान चाहन्थे। एक वर्षअघि अर्थात् सन् २०२४ को जनवरीमा विदेशी कलेजहरू खोजे।

फ्रान्सको लियोन इन्स्टिच्युट फर जियोस्ट्राटेजी एन्ड मल्टी कल्चरल रिलेसन (एलआईजीएमआर) कलेजमा पढ्न जाने निश्चित भयो। अर्को महिना कलेजमा एप्लाई पनि गरे।

प्रक्रिया अघि बढ्यो। सोही वर्ष अक्टोबरमा उनले कलेजको खातामा पैसा पठाए।

ब्याचलर्स फर बिजनेस इन्टरनेसनल एन्ड कम्युनिकेसन विषयअन्तर्गत डिजिटल मार्केटिङ पढ्नका लागि उनले ७ लाख ३४ हजार रुपैयाँ अध्ययन शुल्क पठाए, जुन अन्यभन्दा सस्तो थियो। नयाँ बानेश्वरको युरोग्लोब एजुकेसन कन्सल्टेन्सीबाट उनले सो कलेजमा आवेदन दिएका थिए। 

आवेदन प्रक्रिया सबै अन्य विश्वविद्यालयकै जस्तो थियो। करिब महिना दिन लगाएर कागजात पूरा गरी उनले कलेजको ६ महिनाको शुल्क नेपालबाट पठाएका थिए। 

सामान्यतः एक वर्षको शुल्क ८ हजार युरो अर्थात् १२ लाख ८५ हजार नेपाली रुपैयाँ बुझाउनुपर्ने व्यवस्था भनिए पनि ठाकुरले भने पैसाको जोहो गर्न नसकेपछि जसोतसो ६ महिनाको मात्रै शुल्क बुझाएका थिए। 

पैसा बुझाए पनि उनी फ्रान्स भने जान पाएनन्। नेपालका लागि फ्रान्सेली दूतावासले गत मार्चमा उनको भिसा रद्द गरिदियो।

भिसा रद्द भए कन्सल्टेन्सी आफैँले कलेजबाट विद्यार्थीलाई रकम फिर्ता गराउनुपर्ने हो। तर ठाकुरले पाँच महिना बितिसक्दा पनि तिरेको पैसा फिर्ता पाउन सकेका छैनन्। 

चार महिनासम्म पनि ‘रिफन्ड’ नपाएपछि विश्वविद्यालयबारे फ्रान्समै रहेका नेपालीहरूमार्फत सोधीखोजी गर्दा त उनले आवेदन दिएको कलेज त अस्तित्वमै देखिएन। 

‘कलेजका प्रतिनिधिबाट सुरुमा ४५ देखि ६० दिनभित्र पैसा फिर्ता आउँछ भन्ने इमेल आयो तर ४५ दिनपछि सम्पर्क गर्दा बिजनेस डेका आधारमा दिइने भनियो’, ठाकुरले नेपालखबरसँग भने, ‘अहिले महिनौँ बितिसक्दा पनि पैसा फिर्ता दिनै मान्दैनन्।’ 

यसरी पैसा पठाएर अलपत्र पर्ने उनी मात्र छैनन्। करिब एक सय जति विद्यार्थीको अध्ययन शुल्कबापत करोड बढी रकम लिएर कथित विश्वविद्यालय नै फरार भएको छ। 

फिर्ताका लागि उनीहरूले क्याम्पसको भनेर दिइएको इमेलमा अपिल गरे पनि फिर्ता त कहाँ हो कहाँ, आश्वासन पनि पाएका छैनन्। 

‘ऋण काढेर पैसा जुटाएको थिएँ, उता गएपछि कमाउँदै पढ्दै गरेर तिर्छु भन्ने थियो, अहिले ब्याज तिर्दै बस्नुपरेको छ’, उनले भने।

सोही विद्यालयको स्क्याममा पर्ने अर्की सुनिता चौधरी (नाम परिवर्तन) ले पनि ९ हजार ५ सय युरो अर्थात् १५ लाख ३३ हजार रुपैयाँ फिर्ता नपाएको वर्ष दिन बित्न लागेको छ। उनले काठमाडौंको एडु कनेक्ट नामक कन्सल्टेन्सीबाट साे कलेजमा आवेदन गरेकी हुन्। 

व्यवस्थापन विषय अध्ययनका लागि २०२४ सेप्टेम्बरमा कलेजलाई उनले एक वर्षको शुल्कबापत साढे ९ हजार युरो पठाएकी थिइन्। राजदूतावासबाट भिसा रद्द भएलगत्तै फिर्ताका लागि इमेल गरिन् तर पाएकी छैनन्। 

कलेज प्रशासनसँग पटक–पटक समय माग गर्दा नपाएपछि उनले प्रहरीमा रिपोर्ट गर्ने भने। अहिले चौधरीलाई ठाडै रकम फिर्ता नहुने मेल आउन थालेको छ। 

यसअघि प्राविधिक समस्याले फिर्ता गर्न ढिलो भएको भन्दै झुलाइरहेपछि विद्यार्थीहरूले कानुनी उपचार खोज्ने भनेसँगै कलेजको वेबसाइट र इमेल समेत ब्लक गरिएको ठाकुरको गुनासो छ।

‘धेरै साथीहरूले पैसा फिर्ता नपाएको थाहा पाएपछि मैले कलेजका प्रतिनिधिले राखेको भर्चुअल मिटिङमा कानुनी उपचारमा जाने बताएँ, अहिले पैसा दिँदैनौँ भन्न थालेका छन्’, सुनिता भन्छिन्। 

विदेश अध्ययनका लागि १५ लाख रुपैयाँ बुझाएकी उनी अहिले सोही ऋणको मासिक ३० हजार रुपैयाँ ब्याज बुझाउन बाध्य छिन्। 

रवीन्द्र र सुनिता त यो स्क्याममा परेका प्रतिनिधि अनुहार मात्रै हुन्। अन्य ६ जना साथीहरूको अवस्था पनि उस्तै छ।  

एक कन्सल्टेन्सी सञ्चालक उक्त कलेजमा मात्रै करिब सय जना जति विद्यार्थीको रकम फसेको हुन सक्ने बताउँछन्। एकीकृत तथ्यांक नआए पनि नेपाल र भारतका विद्यार्थीहरू उक्त कलेजको स्क्याममा परेका छन्। 

नेपालबाट करिब एक सयभन्दा धेरै विद्यार्थीको भिसा रद्द भएपछि विश्वविद्यालयले अहिले आफ्नो वेबसाइट बन्द गरेको छ। भिसा रद्दसँगै पठाएको पैसा फिर्ता नगरेपछि विश्वविद्यालयको स्क्याममा परेको चाल पाएको उनीहरू बताउँछन्। 

सुनिताको चिन्ता छ, ‘हाम्रो पैसा फसिसक्यो। अब कसलाई समाउने?’ 

कलेजले दिएको ठेगानामा पुग्दा कलेजको नामोनिशान नभेटिएको बताउँछन् उनीहरू। 

‘पैसा फसेपछि हामीले ग्रुप बनाएर फ्रान्समै भएका साथीहरूलाई कलेजको ठेगानामा पठाउँदा उनीहरूले सो स्थानमा कलेज नै नभएको बताए’, रवीन्द्रले भने।  

एजुकेसन कन्सल्टिङ एसोसिएसन अफ नेपाल (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले उजुरी आउने क्रममा रहेको बताए। 

‘एलआईजीएमआर विद्यालयले पैसा फिर्ता नदिएको भन्दै उजुरी परेपछि हामीले उक्त कलेज र फ्रान्सेली दूतावासलाई पत्र पठाएका छौँ’, उनले नेपालखबरसँग भने, ‘कलेजबाट कुनै पनि प्रतिक्रिया नआएपछि कानुनी प्रक्रियामा अगाडि बढ्नेबारे छलफल गर्दै छौँ।’ 

नेपाली विद्यार्थीले पैसा फिर्ताका लागि दबाब दिन थालेपछि कलेजले प्राविधिक समस्या आएको भन्दै आफ्नो साइट नखुल्ने बनाएको नेपालखबरको सम्पर्कमा आएका विद्यार्थी बताउँछन्। 

कलेज वेबसाइटसँगै इमेलबाट पनि विद्यार्थीहरूलाई ब्लक गर्न थालिएको छ। योसँगै उनीहरूले पढ्न जान त पाएनन् नै, तिरेको पैसासमेत डुबेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ विपरीत सञ्चालनमा रहेका शिक्षण संस्थाहरूलाई विद्यार्थी भर्ना गर्न दिँदैन। 

उक्त निर्देशिकाले टाइम्स हायर एजुकेसन र सांघाई र्यांकिङको उत्कृष्ट १ हजारभित्र हुनुपर्ने व्यवस्था भनेको छ। तर यो व्यवस्था नेपालमा सम्बन्धन प्राप्त गरेर अध्ययन गराउने कलेजहरूमा मात्र लागू हुन्छ। 

विदेशमा पढ्न जाने विद्यार्थीहरूले नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा सूचीकृत भएका कलेजहरूमा अध्ययन गर्न अनुमति लिन पाउँछन्।

एलआईजीएमआर कलेजमा अध्ययन गर्नका लागि शाखाबाट विद्यार्थीहरूले अनुमति समेत पाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad