बझाङको साइपाल गाउँपालिका ४ र ५ मा बन्ने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी जुटेको छ।
आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्व र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्वमा ४१ अर्ब ६० करोड लगानी जुटेको हो।
यसमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एन आइ सी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन हुने भएको हो।
यही साउन १६ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको थियो। सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन्।
कुमारी बैंक लिमिटेड, नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्ये एक, हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य ऊर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ। बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान प्रदान गरेको छ । जसमध्ये केहि सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।
करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र सम्पत्ति दायित्वको मूल्यांकन (डीडीएस) समेत सम्पन्न भइसकेको छ ।
यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर छ। आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घनमिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य सहित अघि बढाइएको छ।
आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । वर्षायाममा ८३४.४९ गिगावाट आवर र सुक्खायाममा ३९५.११ गिगावाट आवर उत्पादन हुनेछ, जसमा १६३.६३ गिगावाट आवर पिक इनर्जी हुनेछ। सुक्खायाममा पिक इनर्जीको विद्युत दर प्रतियुनिट रू. १०.५५ र ननपिक इनर्जीको दर रू. ८.४० रहनेछ ।
उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० के.भी. को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ।
आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करीब रू. १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित रू. ७ अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ।
आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । ठूला लगानीकर्ताहरूमा सिउरी न्यादी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड, येश होल्डिङ प्रालिलगायतका ठूला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्र कुमार गुरागाईं र दिनेश गुरुङ्गजस्ता अनुभवी लगानीकर्ताहरु रहेका छन् ।
स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जलविद्युत विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।
Shares

प्रतिक्रिया