कारोबार


१७ अर्ब ७२ करोडको विद्युत् निर्यात हुँदा १२ अर्ब ९२ करोडको आयात

नेपाललाई झण्डै पाँच अर्ब मुनाफा
१७ अर्ब ७२ करोडको विद्युत् निर्यात हुँदा १२ अर्ब ९२ करोडको आयात

नेपालखबर
साउन २८, २०८२ बुधबार १८:१९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे।

ऊर्जामन्त्री खड्काले भने, ‘नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो। यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन। अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन।’
 
मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याए। देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बङ्गलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० गेगाबाट र बङ्गलादेशमा ३० गेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिए। उनका अनुसार हाल रु १७ अर्ब ७२ करोड बराबरको विद्युत् निर्यात भइरहेको छ। साथै, रु १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ। नेपालले झण्डै रु पाँच अर्ब बराबरको मुनाफा लिइरहेको छ।
 

मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कूल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झण्डै ३९ सय मेगावाड पुगेको छ। प्रतिव्यक्ति विद्युत् खपत चार सय युनिटबाट बढेर झण्डै चारसय ६० युनिट खपत भइरहेको उनले बताए।

मन्त्री खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चार सय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताए। उनले हालको अवस्थामा आन्तरिक विद्युत् खपतपश्चात नेपालले करिब नौ सय मेगावाट विद्युत् भारतबाट निर्यात भइरहेको र निकट भविष्यमा सो सङ्ख्या बढ्ने र अहिले झण्डै अहिले १२ सय मेगावाटको निर्यातका लागि अनुमति प्राप्त भइसकेको जानकारी दिए।

त्यस्तै ४० मेगावाट विद्युत् बङ्गलादेश पनि निर्यात भइरहेको छ। आगामी दिनमा सो परिणाम बढाउँदै लैजाने तयारी छ। 

मन्त्रालयले दीर्घकालीन ऊर्जा रणनीति, दिगो विकास लक्ष्य, पूर्व स्वीकृति राष्टिय योजनालगायत आयोजनासँग सम्बन्धित हुनेगरी नीति निर्माण तथा कार्यान्वयनलाई संस्थागत निरन्तरता दिँदै आएको उनले बताए। मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमामा जस्तो पूर्वाधार विकासमा आवश्यक दीर्घकालीन र लगानी परिचालनका सन्दर्भमा नीतिगत स्थिरता, पारदर्शीता तथा संस्थागत निर्णय प्रक्रियाको पालना गरेर मन्त्रालय अगाडि बढेको स्पष्ट पारे। उनले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढङ्गले भइरहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad