कारोबार


बीमा कसुरमा ४२ जनाविरुद्ध ११ अर्ब २६ करोड बिगो दाबी

बीमा कसुरमा ४२ जनाविरुद्ध ११ अर्ब २६ करोड बिगो दाबी

उद्धव थापा
जेठ २८, २०८३ बिहिबार २१:१५, काठमाडौँ

हिमालयन रि-इन्स्योरेन्स लिमिटेड र अन्य लघु बिमा कम्पनीहरूको सेयरको जालसाजीपूर्ण कारोबार गरी व्यक्तिगत लाभ लिएको अभियोगमा विभिन्न ६ कम्पनीका ४२ जना विरुद्ध ११ अर्ब २६ करोड रुपैयाँको बिगो मागदाबी गरेर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालकहरुलाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दर्ता गरेको हो।  

विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीप चाचन, राजबहादुर शाह लगायतको मिलेमतोमा बीमा कम्पनीहरूको सेयरको जालसाजीपूर्ण कारोबार गरी सेयर बजारमा कालोबजारी र अनुचित लाभ दिएको आरोप अभियोग पत्रमा उल्लेख छ।

काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा हिमालयन रि–इन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई सेयर खरिदका लागि भन्दै पटकपटक गरी दिएको पेस्कीमध्ये २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अझै राफसाफ हुन बाँकी रहेको र उक्त रकम दुरुपयोग भएको भनिएको छ।

६ वटा बीमा कम्पनीहरूको सेयर खरिद बिक्रीमा सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयमा रहेका कम्प्युटर र इन्टरनेट प्रयोग भएको पाइएकोले सबै कारोबारहरू एउटै समूहले योजनाबद्ध रूपमा गरेको दाबी अभियोगपत्रमा छ।

त्यसबाहेक बीमा कम्पनीहरूले कुनै एक कम्पनीको सेयरमा आफ्नो कुल लगानीको बढीमा १५ प्रतिशत मात्र लगानी गर्न पाउने कानुनी व्यवस्था छ। तर, हिमालयन रि–इन्स्योरेन्सले नियामकको पूर्व स्वीकृति नलिई नेपाल पुनर्बीमा कम्पनीको सेयरमा सीमा नाघेर लगानी गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ।

हिमालयन रिइन्स्योरेन्सले नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सार्वजनिक सेयर खरिद गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख २० हजार ५३० कित्ता साधारण सेयर खरिद गरेको देखिएको छ। उक्त परिमाण गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको १३.६ प्रतिशत तथा कुल साधारण सेयरको ४५.३५ प्रतिशत बराबर रहेको उल्लेख छ।

२०८२ चैत २ गतेसम्म हिमालयन रि–इन्स्योरेन्सको कुल लगानी रकम १८ अर्ब ५२ करोड ३ लाख ९३ हजार ७४० रुपैयाँ पुगेको र त्यसमध्ये ४ अर्ब ३७ करोड १७ लाख ८४ हजार ३४ रुपैयाँ सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको सेयरमा लगानी भएको पाइएको छ। जुन कुल लगानीको २३.६१ प्रतिशत हो।

बीमा प्राधिकरणले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ अनुसार पुनर्बीमा कम्पनीले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको संस्थापक वा साधारण सेयरमा कुल लगानीको अधिकतम १५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था छ। हिमालयन रिइन्स्योरेन्सले उक्त सीमा नाघेर लगानी गरेको अनुसन्धानमा देखिएको हो।

त्यसै गरी, आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा हिमालयन रि–इन्स्योरेन्सको लगानी २५.५९ प्रतिशत पुगेको उल्लेख छ। सीमा नाघिसकेको अवस्थामा समेत कम्पनीले थप सेयर खरिदका लागि भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई पटक–पटक रकम भुक्तानी गरेर गैरकानुनी काम गरेको आरोप अभियोगपत्रमा उल्लेख छ।

जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका संस्थापक अध्यक्ष शेखर गोल्छासहित १० जनाका लागि २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

त्यसै गरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाका लागि १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।

हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका दीपककुमार श्रेष्ठसहित ४ जनाविरुद्ध २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ ६ पैसा बिगो मागदाबी गरिएको छ।

हिमालयन क्यापसर्व लिमिटेडका शिशिर गैह्रेसहित ४ जनाका विरुद्ध ३७ करोड रुपैयाँको मागदाबी अभियोगपत्रमा गरिएको छ।

एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका कपिलकुमार दाहालसहित १० जना विरूद्ध २५ करोड ३७ लाख ११ हजार ९०१ रुपैयाँ तीन पैसा बिगो मागदाबी गरिएको छ।

त्यसै गरी, व्यवसायीहरू सुलभ अग्रवाल र सन्दीप चाचन अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ८३ पैसा बिगो मागदाबी गरिएको छ।

दिपक भट्टका लागि २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ ४२ पैसा र राज बहादुर शाहका लागि ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरिएको छ। प्रतिवादीहरूविरुद्ध बिगोबराबरको जरिबाना पनि माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad