चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट लघुवित्तको लाभांश सीमा हटाएको राष्ट्र बैंकले पुँजीकोषका आधार नयाँ सीमा निर्धारण गरेको छ।
यसअनुसार अब लाभांश वितरणपछि पनि लघुवित्तको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि हुने लघुवित्तले २५ प्रतिशतसम्मको लाभांश वितरण गर्न पाउनेछन्।
यसका लागि खराब कर्जा ५ प्रतिशतभन्दा तल भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअनुसार १९ वटा लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्। गत आवको अपरिष्कृत वित्तीय विवरणबाट १९ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ।
यदि खराब कर्जा ५ देखि १० प्रतिशतसम्म छ भने २० प्रतिशतसम्म र १० प्रतिशतदेखि १५ प्रतिशतको बीचमा रहेमा १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्। १५ प्रतिशत माथिको खराब कर्जा भएको लघुवित्तहरूले भने लाभांश वितरण गर्न पाउनेछैनन्।
यस्तै पुँजीकोष १० देखि १२ प्रतिशतसम्म हुने लघुवित्तले खराब कर्जा ५ प्रतिशत भएमा २० प्रतिशत लाभांश बाड्न पाउनेछन् भने खराब कर्जा दर ५ देखि १० प्रतिशतको बीचमा रहेमा १५ प्रतिशत र खराब कर्जा १० देखि १५ प्रतिशतमा रहेमा १० प्रतिशत लाभांश वितरण गर्न पाउनेछन्।
यस्तै पुँजीकोष ८ प्रतिशतदेखि १० प्रतिशतसम्म रहेमा ५ प्रतिशतभन्दा कम खराब कर्जा भएकाको हकमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था गरिएको छ। यस्ता लघुवित्तले खराब कर्जा ५ देखि १० प्रतिशतसम्म भएमा १० प्रतिशत र खराब कर्जा १० देखि १५ सम्म रहेमा ५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्।
योबाहेक पुँजीकोष र निष्क्रिय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा यस बैंकले सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति दिन सक्ने उल्लेख गरेको छ।
यस्तै लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। योबाहेक १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले भने लाभांश वितरण गर्न पाउनेछैनन्।
तर चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्तले पनि बोनस सेयर भने वितरण गर्न पाउनेछन्। यस्तो अवस्थामा कर प्रयोजनका लागि बाहेक अन्य नगद लाभांश भने बाँड्न पाउँदैनन्।
Shares

प्रतिक्रिया