खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ।
सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन सेवा उपलब्ध गराएको हो।
खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए।
यो प्रणाली खाद्य उद्योगी व्यवसायीहरूको सहजताका लागि संचालनमा ल्याइएको उनले बताए। महानिर्देशक कर्णकाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकताअनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था रहेको छ।
सो ऐनको दफा ८ मा खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ को खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुने उल्लेख छ।
उनले यी तीन वटै दफाहरूलाई चुस्तदुरुस्त तरिकाले सेवा प्रवाह गर्नको लागि मंगलबारबाट विभागले नेफिल्स प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिए।
उनले भने, ‘उद्योग स्थापना गर्नुभन्दा पहिले उद्योगहरूले सिफारिस लिनुपर्ने व्यवस्था रहेको छ। यसैगरि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ। त्यसैगरि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। यी सबै व्यवस्था हाल नेपाल सरकारले २०८१ सालमा नेपाल सरकारबाट स्वीकृत भएको, सम्मानित सदनबाट स्वीकृत भएर राष्ट्रपतिबाट लालमोहर लागिसकेपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ नेपाल सरकारले ल्याएको छ।’
महानिर्देशक कर्णले नेफिल्स प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने बताए। यसले उद्योगी व्यवसायीहरूले घर/अफिसमै बसेर लगईन आईडी क्रियट गरी उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नवीकरणको लागि आवश्यक कागजातहरू नेफिल्समा भर्न सकिने जानकारी दिए।
उनकाअनुसार सेवाग्राहीले कागजात अपलोड गरिसकेपछि विभागको कर्मचारीले मनिटरिङ गर्नेछन्। सबै कागजात मिलेमा सेवाग्राहीको ईमेलमा अनुमतिपत्र तयार भएर जानेछ, भने नमिलेमा, कुन नमिलेको हो भन्ने जानकारीसहित फेरि भर्न अनुरोध जानेछ।
ग्राहकले नमिलेका कागजातलाई फेरि अपलोड गर्न सक्नेछन्। खाद्य उद्योगको नमूना ल्याउन बाहेक अरु कार्यको लागि विभाग धाउनुपर्ने अवस्थाको अन्त्य भएको महानिर्देशक कर्णले बताए।
उनले भने, ‘यस प्रणालीबाट अब सेवाग्राहीले यहाँ चाहीँ एउटा फेसलेसको कुरा गरेका छौँ। एउटा पेपरलेसको कुरा गरेका छौँ। अब खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमै अवस्थाको अन्त्य गरेका छौँ। यसले उद्योगी व्यवसायीहरूले घरमा नै बसेर, अफिसमै बसेर पनि त्यो सिष्टममा लगईन आईडी क्रियट गरेर अनुमतिपत्र जारीको लागि, नवीकरणको लागी र यो सिफारिसको लागि भर्नुपर्ने कागजातहरू, फर्महरू त्यहीँबाट अपलोड गर्न सक्नुहुनेछ।’
उनले यस सिष्टम देशभरी नै लागू गर्ने विभागको योजना रहेको बताए। हाल विभाग र विभाग अन्तर्गतको हेटाैँडा कार्यालयबाट सेवा शुरु भएको उनले भनाइ छ।
क्रमश: विभाग अन्तर्गत रहेका विराटनगर, जनकपूर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि असोजको पहिलो हप्ताबाट सेवा सुचारु गर्नेगरि तयारी गरेको उनले जानकारी दिए। त्यसका लागि कर्मचारीहरूलाई तालिम, प्रशिक्षण दिने काम भइरहेको उनको भनाइ छ।
महानिर्देशक कर्णले नेफिल्स प्रणालीलाई सेवाग्राही र कर्मचारीमैत्री बनाएको बताए। यद्यपि शुरुमा सेवाग्राहीहरूलाई केहि झन्झट भने लाग्नसक्ने उनको भनाई छ।
पहिला विभागमा बुझाउनुपर्ने प्रमाणपत्रहरू अहिले अनलाइनमा अपलोड गर्नुपर्ने भएकोले केही झन्झट लाग्नु स्वभाविक पनि भएको उनले बताए। उनले एकपटक अपलोड गरेपछि फेरि ती सबै प्रमाणपत्रहरू अपलोड गरिराख्न नपर्ने जानकारी दिए।
उनले भने, ‘एक पटक त्यो सिष्टमभित्र यहाँहरूको सबै डकुमेण्ट सेभ भईसकेपछि अर्को पटक फेरि त्यो हार्ड कपि ल्याउनुपर्दैन। हामीले सजिलो सिष्टम बनाएका छौँ। युजरमैत्री बनाएका छौँ। त्यहाँ काम गर्न सजिलो छ। त्यो सिष्टमभित्र अपलोड गर्न, प्रक्रिया बुझ्न पनि सजिलो छ।’
उनले नेफिल्स प्रणालीले कामलाई छिटो र पारदर्शी बनाउने बताए। विगतमा ३ महिना, ६ महिनासम्म लाग्ने कामहरू अब बढीमा १५ दिनभित्र हुने उनको दाबी छ। उनले नवीकरण १ हप्ताभित्रै हुने बताए।
महानिर्देशक कर्णले नेफिल्समा जी कोडको व्यवस्था पनि गरिएको जानकारी दिए। यसले उद्योगीहरूको उद्योग कहाँ छ? भनेर सजिलै पत्ता लगाउन सकिने बताए।
विगतमा नक्शा बनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले त्यसबाट उद्योग रहेको ठाउँ फेला पार्न नै मुस्किल हुने गरेको बताए। जी कोडको व्यवस्थाले विभागबाट अनुगमनको लागि जाने निरिक्षकहरूलाई पनि सहजता हुने उनको भनाई छ।
उनले भने, ‘हाम्रो निरीक्षकहरू जानुहुन्छ, जी कोडका आधारमा उद्योगमा र अनुगमन निरीक्षण गरेर फर्किनुहुन्छ। त्यो अनुगमन, निरीक्षण भइसकेपछि ३ दिनभित्र खाद्य अनुगमन अधिकारी, निरीक्षण अधिकारीले त्यो रिपोर्ट पेस गर्नुपर्छ। उहाँले ३ दिनभित्र जसरी नी हाल्नुपर्यो, हालेको छैन भने उहाँलाई पनि नोटिफिकेसन जान्छ। यी सिष्टमहरू सजिलो बनाएका छौँ।’
विभागकाअनुसार खाद्य उद्योगी व्यवसायीले विभागको साइटबाट यो सेवा उपयोग गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया