जेनजी प्रदर्शनले नेपालको अर्थतन्त्रको लागि ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको विज्ञहरूले बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा समुन्नत अर्थतन्त्रका लागि यो उपयुक्त अवसर भएकाले अब निजी क्षेत्रलाई आशा जगाउँदै अघि बढ्नुपर्ने उनीहरुले बताएका हुन्।
सेजनले ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तर्क्रिया गरेको हो। कार्यक्रममा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारविरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारविरुद्ध मानिसहरु एकसाथ जाग्नु उपलब्धि भएको बताउँदै संविधान संशोधनलगायतका विषय पछि जोडिएको बताए।
‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ’, उनले भने।
उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रुपमा मानव सृजित समस्या भएकाले दातृनिकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए।
२०३६ साल र माओवादीको द्वन्द्वमा पनि यस्तै परिस्थिति आएको बताउँदै त्यतिबेला पनि ठूलो क्षति भएको उल्लेख गरे। अहिले पनि फेरि उठ्न सकिने उनको भनाइ छ।
प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको पूर्वसचिव खनालको भनाइ छ।
यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए।
सञ्चारमाध्यमलाई संयमित हुन आग्रह गर्दै उनले हिल्टन होटल प्रकरणजस्ता दोहोरिन दिन नहुने उल्लेख गरे।
त्यस अवसरमा अर्थशास्त्री डा. समीर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे। खतिवडाले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए।
‘हामीले ल्याइरहेको विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै हो, त्यो आफैँमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ’, उनले भने ।
Shares

प्रतिक्रिया