कारोबार


आईटीसी ग्रुप भन्छ– नेपालमा लगानी गर्ने योजनामा कुनै परिवर्तन हुँदैन, यी क्षेत्रमा लगानी बढाउँदै भारतको आईटीसी र सूर्य नेपाल

आईटीसी ग्रुप भन्छ– नेपालमा लगानी गर्ने योजनामा कुनै परिवर्तन हुँदैन, यी क्षेत्रमा लगानी बढाउँदै भारतको आईटीसी र सूर्य नेपाल

आईटीसी भारतका प्रमुख तथा प्रबन्धनिर्देशक सञ्जीव पुरी


निर्दोष घोरसाइने
असोज ९, २०८२ बिहिबार १०:१७, काठमाडौँ

जेन–जी आन्दोलनपछि नेपालमा विकास भएको नयाँ परिस्थितिमा पनि भारतको बहुराष्ट्रिय कम्पनी आईटीसी ग्रुप र सोहीअन्तर्गतको सूर्य नेपाल प्रालिले दीर्घकालीन योजनाअनुसार नै लगानीलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

जेन–जी आन्दोलनपछि पछिल्लो समय सरकार परिवर्तनसँगै नेपालको परिस्थिति फेरिए पनि आईटीसी र बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले नेपालमा आफ्नो लगानी योजनामा कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन्।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँमा केही बहुराष्ट्रिय कम्पनीका लगानी रहेको सम्पत्तिमा पनि आगजानी र तोडफोड भएको थियो। हिल्टन होटलको भवन र एनसेल कर्पोरेट भवनमा पनि आगजनी भएको थियो। यस्तो आक्रमणपछि नेपालमा विदेशी लगानीहरु के हुन्छन् भन्ने आशंका पैदा भइरहेका बेला पहिलो पटक आईटीसी र सूर्य नेपालले लगानीलाई निरन्तरता दिने बताएका हुन्।

आईटीसी भारतका प्रमुख तथा प्रबन्धक निर्देशक सञ्जीव पुरीले नेपालमा द्रुतगतिमा अघि बढिरहेको उपभोग्य सामान र होटल विस्तार गर्ने योजना नरोकिएको जानकारी दिए। 

आईटीसी ग्रुपले नेपालमा उत्पादन, सेवा र निर्यात क्षेत्रमा लगानी गर्दै आएको छ।

हाल आईटीसीले भक्तपुरको साँगामा फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा (फर्चुन पार्क) को व्यवस्थापन गरिरहेको छ। यस्तै निर्माण हुनलागेको दरबारमार्गको अन्नपूर्ण स्क्वायर होटलमा पनि व्यवस्थापकीय जिम्मेवारी लिँदै छ।

साथै सूर्य नेपालले काठमाडौंको बूढानीलकण्ठमा अल्ट्रा लग्जरी फाइभ स्टार होटल सञ्चालन गर्ने योजना बनाएको छ। यसका लागि उद्योग विभागबाट २०७८ असोजमा ६ अर्ब रुपैयाँका लगानी स्वीकृति लिइसकेको छ। होटल सञ्चालन गर्न सूर्य नेपालले बूढानीलकण्ठको ३ र ६ नम्बर वडामा ६५ रोपनी जग्गा खरिद गरिसकेको छ। उक्त जग्गामा रिटेनिङ वाललगायत अन्य कार्य अघि बढिसकेको छ। जग्गा र होटलसहित यो योजना १० अर्ब रुपैयाँ हाराहारीको लगानीमा सञ्चालनमा आउने सूर्य नेपालले जनाएको छ। 

सूर्य नेपालको कार्यालय

सूर्य नेपाल प्रालि नेपाली उपभोक्तामाझ विविन्न ब्रान्डको चुरोट उत्पादनकर्ताका रुपमा परिचित छ। पछिल्लो समय कम्पनीले नेपालमा लगानी विविधीकरण गर्दै आइरहेको छ। सूर्य नेपालले सुर्तीजन्य पदार्थ निर्यात, बिस्कुट, चकलेट, अगरबत्ति, धुप उत्पादनमा लगानी गर्दै आइरहेको छ।

सन् १९८२ मा स्थापना भएको सूर्य नेपालमा आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिका टोबाको लिमिटेडको २ प्रतिशत स्वामित्व छ।

सूर्य नेपालले मुलुकको अर्थतन्त्र र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको छ। चार दशकदेखि नेपालमा सञ्चालनमा रहेको सूर्य नेपाल बहुराष्ट्रिय लगानी भए पनि यो नेपाली माटोमा हुर्केको नेपालकै मौलिक ब्रान्डका रुपमा रहेको सूर्य नेपालका कर्पोरेट अपेयर्सका उपाध्यक्ष रवि केसीले बताए।

बहुराष्ट्रिय कम्पनीमाथि भएको आक्रमणबाट अन्तर्राष्ट्रिय लगानीकर्तामा सकारात्मक सन्देश नजाने भन्दै केसीले यसबाट व्यापार व्यवसायमा असर पर्ने जोखिम रहेको अवस्थामा पनि लगानीका लागि तयार र सुरक्षित रहेको सन्देश दिन सबै पक्ष मिलेर काम गर्नु पर्ने बताए।केसीका अनुसार प्रतिकूल परिस्थितिका बाबजुद पनि सूर्य नेपालले लगानी योजना परिवर्तन गरेको छैन।  

‘हामी आफ्नो पूर्वयोजनाअनुसार नै अघि बढ्छौँ। सूर्य नेपाल छोटो अवधिका लागि आएको कम्पनी होइन, यो नेपालकै मौलिक कम्पनी हो,’ केसीले नेपालखबरसँग भने, ‘दीर्घकालीन योजनासहित नेपालमा व्यावसाय गर्दै आएका छ।’

नेपालको लगानी वातावरणबारे सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी घरेलु उद्योगकै हुन्छ। आईटीसी र सूर्य नेपालको घोषणाले अहिलेको विषम परिस्थितिमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको नेपालप्रतिको आत्मविश्वास कायम राख्न मद्दत गर्ने देखिएको छ।

‘अशान्ति नेपालमा मात्रै होइन, विश्वभर देखिएको छ। सूर्य नेपाल नेपालीप्रति प्रतिबद्ध कम्पनी भएकाले हाम्रो पूर्व योजनामा परिवर्तन गर्ने सोच छैन। नेपाल लगानीका लागि सधैँ सुरक्षित थियो, अझै पनि सुरक्षित नै छ’, उनले भने।

भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन विदेशी लगानीकर्तालक्षित नभएर राज्यमा मौलाएको भ्रष्टाचार र विसंगतिप्रति लक्षित थियो। 

प्रदर्शनकै समयमा पनि नेपालमा पर्यटकहरुलाई सुरक्षित रुपमा व्यवस्थित गरिएको थियो। पछिल्ला घटनाले नेपालको राजनीतिक संरचनामा केही परिवर्तनको संकेत दिएको भए पनि, आर्थिक गतिविधि सामान्य अवस्थामा फर्कन धेरै समय लाग्ने देखिँदैन। नयाँ सरकार र अर्थमन्त्रीले अवस्थामा सुधार ल्याउने र निजी क्षेत्र तथा लगानीकर्ताको विश्वास कायम गर्ने प्रतिवद्धता जनाएका छन्।

उपाध्यक्ष केसीका अनुसार सूर्य नेपाल आफ्ना उत्पादनलाई अझ विविधिकरण गर्ने योजनासहित अघि बढेको छ। 

यसका लागि आर्थिक वर्ष २०८०/८१ देखि सूर्य नेपालले मोरङको विराटनगरस्थित पुरानो गार्मेन्ट उद्योगमा पूर्ण रुपमा फुड्स म्यानुफ्याक्चरिङ सेन्टर सञ्चालनमा ल्याएको छ।  

सूर्य नेपाल एफएमसीजीमा मात्रै सीमित छैन। यसले नेपालमै उत्पादन गरिएका वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना बनाइरहेको छ। कम्पनीका अनुसार केही उत्पादन निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। 

नेपालमा उत्पादन हुने वस्तु पहिचान गरेर अन्तर्राष्ट्रिय बजारमा लग्ने सूर्य नेपालको योजना छ। पछिल्लो समय सूर्य नेपालले एफएनसीजीअन्तर्गत डार्क फ्यान्टासी बिस्कुट उत्पादन सुरु गरेको छ। यसमा पनि प्रोडक्ट लाइन थप्ने योजना छ। 

पछिल्लो समयमा सूर्य नेपालले डार्क फ्यान्टासी चोको रोल उत्पादन गरिरहेको छ भने चकलेटमा अन्य प्रोडक्ट थप्ने कम्पनीको योजना छ। यस्तै मंगलदिप ब्रान्डमा अगरबत्ति र धुप उत्पादन गरिरहेको छ। सूर्य नेपालले उत्पादन गर्ने मंगलदिप हाल नेपालको सबैभन्दा ठूलो अगरबत्ति रहेको केसीले बताए। 

सूर्य नेपालले केही समयदेखि नेपाली किसानले उत्पादन गरेको सुर्तीजन्य पदार्थ टर्की, दक्षिण कोरियालगायत देशमा निर्यात गरिरहेको छ। यो निर्यात अन्य मुलुकमा पनि विस्तार गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad