कारोबार


अर्थ मन्त्रालयले भन्यो– स्रोत नखुलेको पैसा विभिन्न व्यक्तिले लुकाएकोबारे तीव्र अनुसन्धान भइरहेको छ

अर्थ मन्त्रालयले भन्यो– स्रोत नखुलेको पैसा विभिन्न व्यक्तिले लुकाएकोबारे तीव्र अनुसन्धान भइरहेको छ

नेपालखबर
असोज १२, २०८२ आइतबार १८:१४, काठमाडौँ

अर्थ मन्त्रालयले विभिन्न व्यक्तिहरुले स्रोत नखुलेको पैसा लुकाएको भन्नेबारे सरकारले तीव्र अनुसन्धान गरिरहेको जनाएको छ। 

आइतबार सूचना जारी गर्दै मन्त्रालयले यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जनाएको हो। 

‘प्रचलित कानुनबमोजिम आयआर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको व्यहोरा समेत जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ, ‘तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाइरहेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ बमोजिम अनुसन्धान भइरहेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएकोबारे समेत गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले नगद कारोबारबारे विद्यमान कानुनी व्यवस्था समेत अवगत गराएको छ। 

यसअनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने तर करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा सोहीबमोजिम हुने मन्त्रालयले उल्लेख गरेको छ। 

यस्तै नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ। 

नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको पनि मन्त्रालयले अवगत गराएको छ। 

उक्त व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयले उल्लेख गरेको छ। 

त्यस्तै सरकारले नगदभन्दा विद्युतीय कारोबार गर्न समेत आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad