चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सर्वसाधारणले गरेको घरजग्गा कारोबारबाट सरकारले करिब ९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यो तीन महिनामा नेपालीले गरेको २ लाख ८५ हजार बढी घरजग्गा कारोबारबाट संकलन भएको रकम हो।
चालू आर्थिक वर्षमा विस्तारै उकालो लाग्न थालेको घरजग्गा व्यवसायमा भदौमा भएको जेनजी आन्दोलनले समेत प्रभाव पारेको व्यवसायीहरू बताउँछन्। यी ३ महिनाको तथ्यांक दाँज्दा आन्दोलनपछिको महिना असोजमा सबैभन्दा थोरै कारोबार भएको देखिन्छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ३ अर्ब २८ करोड र भदौमा ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। तर असोजमा आइपुग्दा भने २ अर्ब ७५ करोड मात्रै उठेको विभागले जनाएको छ।
यो अवधिमा कारोबारमा पनि उल्लेख्य कमी आएको छ। साउन महिनामा १ लाख ४ हजार २१८ वटा र भदौमा १ लाख २ हजार ०७१ वटा कारोबार भएको थियो। तर असोजमा भने थप घटेर कुल ७९ हजार ७ सय ३६ वटा मात्रै घरजग्गा कारोबार भएको छ।
घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरे ५ सयभन्दा बढी पालिकामा जग्गा कित्ताकाट बन्द भएका कारण त्यसको असर घरजग्गा कारोबारमा देखिएको बताउँछन्।
‘२ सय ५३ वटा पालिकाको मात्रै जग्गाको पूर्ण वर्गीकरण गरिएको छ, बाँकीको कित्ताकाट रोकिँदा सिजनमै कारोबार सुस्ताएको हो’, उनले नेपालखबरसँग भने।
७ सय ५३ वटा पालिकामध्ये २ सय ५३ वटाको पूर्ण वर्गीकरण भएको र बाँकी ५ सयवटा पालिकाको नहुँदा कित्ताकाट रोकिँदै आएको छ।
योसँगै जेनजी आन्दोलनपछि ठूला व्यवसाय तथा सरकारी संरचनाहरूमा क्षति पुगेका कारण पनि घरजग्गाका कामहरू अधिकांश बन्द थिए। यसले पनि कारोबारमा प्रत्यक्ष प्रभाव पारेको अध्यक्ष घिमिरे बताउँछन्।
सरकारले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान गराउने नाममा पुँजीबजारदेखि घरजग्गा कारोबारसम्ममा लचक नीति अपनाएको छ। यसअनुसार ३ करोडभन्दा माथिको घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कम्पनी दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
यसले पनि घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने भन्दै व्यवसायीहरू उत्साहित देखिएका थिए। यद्यपि अचानक भएको जेनजी प्रदर्शन र त्यसको क्षतिले पनि अपेक्षित रुपमा कारोबार भने बढाउन सकेन। अध्यक्ष घिमिरेका अनुसार असोज र कात्तिक महिनामा घरजग्गा कारोबारको विशेष समय मानिन्छ।
‘दशैँतिहारमा घर आउने र यही समयमा घरजग्गामा लगानी गर्ने प्रवृत्ति नेपाली समाजमा छ तर यस पटक कित्ताकाट रोकिनु, जेनजी आन्दोलनले निराशा फैलाउनुजस्ता कारणले पनि कारोबारमा प्रत्यक्ष प्रभाव पारेको छ’, उनले भने।
घरजग्गा क्षेत्रमा बैंक तथा वित्तहरूबाट कुल १ खर्ब ५ अर्ब ५० करोड बराबरको कर्जा गएको छ। जसमा ३ करोडसम्मका आवासीय घरका लागि भदौ मसान्तसम्म कुल ७१ अर्ब ८८ करोड बराबरको कर्जा प्रवाह भएकोमा रियलस्टेटतर्फ ३३ अर्ब ६२ करोड बराबरको कर्जा प्रवाह भएको छ।
Shares

प्रतिक्रिया