नेपालखबर ‘द चेन्जमेकर’–१
नेपालमा परिवर्तनको हावा चलिरहेको छ। यो हावा राजनीतिक नारा मात्र होइन– विचार, दृष्टि र सम्भावनाको नयाँ दिशा हो। यो परिवर्तनको मुटुमा छन् आजका युवाहरू। जसले साँघुरो सीमाभन्दा पर सोच्न थालेका छन्, जसका सपना अब देशभित्र भविष्य खोज्न अभिप्रेरित छन्।
यही चेतना र आत्मविश्वासले जन्म दिएको छ, एक नयाँ पुस्ताको आन्दोलन – जेनजी आन्दोलन – जसले विचार, नेतृत्व र कर्मको नयाँ अध्याय लेख्दैछ।
जेनजी आन्दोलनले नेपालको युवा पुस्ताको आकांक्षा, सिर्जनात्मकता र आत्मनिर्भर सोचलाई सशक्त बनाउने उद्देश्य राखेको छ। यो आन्दोलनले युवालाई ‘देशमा केही गर्न सकिन्छ’ भन्ने आत्मविश्वास भर्ने प्रयास गरेको छ, जसले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा नयाँ ऊर्जा भरेको छ।
यही दृष्टिकोणका एउटा संवाहक हुन् वरुण चौधरी। फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीका कान्छा छोरा तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक – वरुण चौधरी।

युवा उद्यमी वरुण चौधरी व्यवसायी मात्र होइनन्, उनी नयाँ पुस्ताका लागि एक ‘रोल मोडल’ हुन्, प्रेरणाका स्रोत पनि हुन्। उनको नेतृत्वमा चौधरी ग्रुपले खाद्य पदार्थ, सिमेन्ट तथा आतिथ्यलगायतका क्षेत्रमा विश्वस्तरको उपस्थिति विस्तार गर्दैछ।
विदेशमा अध्ययनपछि नेपाल फर्किएका वरुण आफ्नो पुस्तालाई सिर्जनशील तथा क्षमतावान् मान्दछन्।
चौधरी ग्रुपलाई नयाँ युगमा रूपान्तरण गर्दै, पारिवारिक व्यवसायलाई विश्वव्यापी नवप्रवर्तनको केन्द्रमा पुर्याएका उनले व्यावसायिक विस्तारमा मात्र योगदान दिएका छैनन्। युवा पुस्तालाई प्रेरित गर्ने कथाका पात्र पनि बनेका छन् वरुण, आत्मविश्वास, जोखिम लिन सक्ने साहस र परिवर्तनको ज्वाला बोकेका एक प्रतिनिधि।
चौधरी ग्रुपले करिब डेढ शताब्दी पुरानो पारिवारिक व्यवसायको झण्डा आज विश्वका दर्जनौँ मुलुकमा फहराइरहेको छ र यसको पछाडि छन् वरुण चौधरी। एउटा यस्तो युवा अनुहार, जसले आफ्नो परम्परालाई कायम राखी त्यसैको जगमा नवप्रवर्तनको दह्रिलो संरचना खडा गरेका छन्। उनी केवल पारिवारिक उत्तराधिकारी होइनन्, बदलिँदो विश्वबजारको मुटुमा नयाँ धड्कन भरिरहेका परिवर्तनका संवाहक पनि हुन्।
व्यवसायलाई आधुनिक प्रविधि, विश्वस्तरीय व्यवस्थापन र दिगो सोचसँग जोड्दै उनले नेपाली उद्यमशीलताको नयाँ अध्याय लेखेका छन्। वरुणको नेतृत्वमा चौधरी ग्रुपको व्यवसायले नाफा मात्र होइन, मूल्य, मान्यता र दृष्टिकोण पनि विस्तार गरिरहेको छ, जहाँ युवा पुस्ताका लागि प्रेरणा र सम्भावनाको संसार खुल्दै गएको छ। उनीजस्ता युवाले देखाएका साहस र दृष्टिले प्रमाणित गर्छ – परिवर्तन केवल प्रविधिमा होइन, सोच, नेतृत्व र कार्यशैलीमै सु्रू हुन्छ। त्यसैले उनी चेन्जमेकर पनि हुन्।
जेनजी आन्दोलनले ल्याएको नयाँ सोच र वरुण चौधरीको व्यावहारिक दृष्टिकोणले एउटै सन्देश दिन्छ – परिवर्तन त्यहीँ हुन्छ, जहाँ युवाले जिम्मेवारी लिन्छन्। उनीहरू आफ्ना सपना साकार पार्ने मात्र होइन, देशको भविष्य कोर्ने संवाहक बन्दैछन्।
सीजी ग्लोबल कर्पका प्रबन्ध निर्देशक उनै वरुण चौधरीका साथ नेपालखबरले कार्यक्रम ‘द चेन्जमेकर’ शृंखला सुरु गरेको छ।
भिडिओ:
कठिन समयमै लगानीको हिम्मत
हालै नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा भारतीय प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनलसँगको सहकार्यमा नयाँ कारखाना शिलान्यास भयो।
देशभित्र राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता र निजी क्षेत्रमाथि आक्रमण भइरहेका बेला यो लगानीले एउटा सन्देश दियो – आफ्नो देशप्रतिको भरोसा कहिल्यै हराउँदैन।
जेनजी आन्दोलनका क्रममा चौधरी समूहका व्यावसायिक प्रतिष्ठानमाथि आगजनीसम्म भए, तर समूहका अध्यक्ष विनोद चौधरी र उनका छोरा वरुणले ‘हामी अझ बलिया भएर फर्किन्छौं’ भन्ने आत्मविश्वास देखाए।
वरुण चौधरीको नेतृत्वमा वाइवाइ चाउचाउ मात्र होइन, विश्वभर नेपालको पहिचान पनि फैलिइरहेको छ।
भारत, बंगलादेश, कजाकस्तान, सर्बिया हुँदै अब इजिप्टसम्म वाइवाइको प्लान्ट विस्तार हुँदैछ।
‘वाइवाइसँगै नेपाललाई विश्वमा चिनाउन पाउँदा गर्व लाग्छ,’ उनी भन्छन्।
उनले वाइवाइलाई विश्वव्यापी ब्रान्ड बनाउने लक्ष्यसँगै कृषि, होटेल, स्वास्थ्य र रियलस्टेट क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेका गरेका छन्।
वरुण स्पष्ट बोल्छन्, ‘नेपालमा लगानी गर्न चाहनेहरू धेरै छन्, तर राजनीतिक अस्थिरताले उनीहरू हच्किएका छन्।’
उनले उदाहरणका रूपमा अम्बानी र अदानीजस्ता भारतीय घरानाको नाम लिए।
त्यसैले उनको सन्देश सरल छ, ‘राजनीतिक स्थिरता सबैभन्दा पहिलो सर्त हो।’

युवाप्रतिको भरोसा, उज्यालोतर्फको यात्रा
नेपालका युवामा अद्भुत क्षमता छ भन्ने विश्वास वरुणमा छ।
‘नेपालका युवाहरू अत्यन्त सिर्जनशील छन्। विश्वस्तरको एक्सपोजर पाए उनीहरूले १०० प्रतिशत प्रतिस्पर्धा गर्न सक्छन्,’ उनी भन्छन्।
त्यसैले उनी सरकारलाई आग्रह गर्छन्, ‘हामी लगानी गर्छौं, तर वातावरण बनाउने जिम्मा सरकारको हो।’
व्यवसाय बाहेक वरुण संगीतमा रुचि राख्छन्। कहिलेकाहीँ साथीभाइमाझ गीत पनि गाउँछन्। उनको जीवनशैली सरल छ, तर दृष्टि फराकिलो। आत्मा नेपाली, सोच विश्वव्यापी।
आफूले आफ्ना पितापुर्खाको विरासत धानेजस्तै उनका सन्तानले पनि उनको विरासत धान्लान् त?
वरुण भन्छन्, ‘छोरा अझै सानो छ। तर, स्पेस र स्याटलाइटका कुरा गर्न थालेको छ।’


छोरीको गीतसंगीतप्रतिको आफ्नै छनोट छ। अबको पुस्ताले ठ्याक्कै यही गर्छ भन्न सकिन्न। किनकि यो फरक समय हो र उनीहरूको सपनालाई उडान भर्न अनन्त आकाश छ, उनको विचारमा।
रिटायरमेन्ट भन्ने शब्द आफ्नो शब्दकोषमा नै नभएको बताउने वरुण चौधरी देशमा युवाहरू रोजगारीको खोजीमा दैनिक तीन हजारको दरले विदेश गइरहेका बेला नेपालमा विदेशी लगानी भित्र्याउँदै छन् – एउटा उज्यालो भविष्यको आशामा।
त्यो उज्यालो उनको व्यक्तिगत यात्राको मात्र होइन, नयाँ पुस्ताको आत्मविश्वासको प्रतीक पनि हो। जसले भन्छ, ‘परिवर्तन हामीबाटै सुरु हुन्छ।’

प्रतिक्रिया