कारोबार


चुनावमा जाने ठूला दलहरूको प्रतिबद्धतापछि सेयरबजारमा ४७ अंकको उछाल

२३८ वटा सेयरको मूल्य बढ्दा २१ वटाको मात्रै घट्यो
चुनावमा जाने ठूला दलहरूको प्रतिबद्धतापछि सेयरबजारमा ४७ अंकको उछाल

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:२४, काठमाडौँ

देशको अन्योलग्रस्त राजनीतिक माहोल विस्तारै समाधान हुने आकलनपछि साताको पहिलो दिन लगानीकर्ताहरुले सेयरबजारमा कारोबार बढाएका छन्। बजार सूचक नेप्से आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा चढेको हो। 

प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्का मुख्य दलका शीर्षनेताहरुलाई भेटेकी थिइन्। सो क्रममा शीर्षनेताहरुले आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा जाने प्रतिबद्धता जनाएका थिए। 

त्यसैगरी शनिबार राति नै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र अघिल्लो चुनावबाट संसद्मा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सहमति जुटेको थियो। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बिग्रेको राजनीतिक परिस्थितिलाई साम्य पार्न यो सहमतिले भूमिका खेल्नसक्ने विश्वास लगानीकर्तामा बढेकाले आइतबार सेयरबजारमा उछाल आएको हो। 

७ बुँदे उक्त सहमति भएकै दिन आइतबार बजार उच्च अंकले बढेको हो। यस दिन १ करोड ३४ लाख कित्ता बिक्रीपछि ५ अर्ब ५३ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन २३८ वटा सेयरको मूल्य बढ्दा २१ वटाको घटेको छ। बढेकामा मिड सोलु हाइड्रो ९.४९ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.९७ प्रतिशत, अपर स्यांगे हाइड्रोपावर ६.५२ प्रतिशत, रुरु जलविद्युत् परियोजना ५.१६ र मल्टिपर्पस फाइनान्स ४.८९ प्रतिशतले बढेका छन्। 

गिरावट आएका सेयरहरुमध्ये विन नेपाल लघुवित्त १० प्रतिशतले घटे पनि बाँकी सेयरहरुमा अधिकतम ३.४२ अंकको मात्र मूल्य ह्रास आएको छ। 

यता कम्पनीहरुको अधिकतम १०/१२ करोडको कारोबार हुने गरेकामा यस दिन युनियन हाइड्रोपावरको २७ करोड नाघेको छ। त्यसैगरी मञ्जुश्री फाइनान्सको कारोबार पनि २४ करोड बढी हुँदा सिनर्जी पावर डेभलपमेन्ट २२ करोड, एसवाई प्यानल १८ करोड र शिवम् सिमेन्ट १७ करोडको कारोबार भएको छ। 

पछिल्लो समय बजारमैत्री नीतिका बाबजुद कारोबार निरन्तर संकुचित हुँदै गएको थियो।

आज फाइनान्स, अन्य र विकास बैंक सूचकले राम्रो वृद्धि देखाएका छन्। २ प्रतिशत हाराहारीले यी सूचक बढ्दा वाणिज्य बैंक, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, निर्जीवन बीमाको पनि बजारमा राम्रो प्रस्तुति छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad