चालू आर्थिक वर्षको पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसले महंगी नियन्त्रणोन्मुख रहेको देखाउँछ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो।
मुद्रास्फीति भनेको पैसाको अवमूल्यन हुने हो। मुद्रास्फीति जति धेरै हुन्छ, वस्तु खरिदमा धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ भने जति कम रहन्छ, त्यति पैसा पनि कम खर्च गर्नुपर्ने हुन्छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२/८३ को छ महिनाकोऔसत मुदास्फीति १.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ।
दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ।
Shares

प्रतिक्रिया