कारोबार


जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

नेपालखबर
माघ २७, २०८२ मंगलबार १६:२२, काठमाडौँ

नेपालमा गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकी भारतीय नागरिकका श्रीमानले दिल्ली उच्च अदालत (हाइकोर्ट)मा सय करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। 

भारतीय पत्रिका अमर उजालाका अनुसार रणवीर सिंह गोला नामका ती व्यक्तिले पत्नी राजेश गोलाको मृत्यु भएको भन्दै भारत सरकार (विदेश मन्त्रालय), नेपालस्थित भारतीय दूतावास र काठमाडौंको हायात रिजेन्सी होटलको विरुद्ध मुद्दा दायर गरेका हुन्। 

उनले सय करोड भारु क्षतिपूर्ति (मुआब्जा) मागेका छन्। 

उनको दम्पती सन् २०२५ सेप्टेम्बर ७ मा पशुपतिनाथ दर्शनका लागि नेपाल आएको थियो। सेप्टेम्बर ९ मा प्रदर्शनकारीहरुले होटलमा आगो लगाउनुका साथै आक्रमण गरेका थिए। होटल प्रशासनले उनीहरुलाई सुरक्षाको आश्वासन समेत दिएको र चेकआउट गर्न नदिई माथिल्लो तलामा पठाएको तर आपत्कालीन स्थितिमा कुनै उचित प्रबन्ध नमिलाएको याचिका (रिट)मा आरोप लगाइएको छ। 

उनकी श्रीमती भाग्ने क्रममा चौथो तलबाट झरेर मृत्यु भएको उनले रिटमा उल्लेख गरेका छन्। रिटमा भारतीय दूतावास र विदेश मन्त्रालयले पटक पटक सम्पर्क गर्दा पनि मद्दत नगरेको उनको आरोप छ। 

न्यायाधीश पुरुषेन्द्र कुमार कौरवको एकल इजलासले सोमबार यसमा सुनुवाइ गरेको थियो। अदालतले नेपालमा भएको घटनामा आफ्नो क्षेत्राधिकार हुनेबारे प्रश्न उठाउँदै नेपालमा केही हुने अनि होटलले केही भन्ने कुरा अदालतले कसरी तय गर्छ भन्दै प्रश्न उठाएका थिए। अदालतले रिटमा हायात होटललाई जोडिएकामा समेत आपत्ति जनाएको र रिट संशोधन गर्न भनेको समाचारमा उल्लेख छ। 

यसबारे अदालतले फेब्रुअरी २६ सम्म सुनुवाइ स्थगित गरिदिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad