नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन्।
उनले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर केहीबेरअघि आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए।
‘यो मतदानबाट मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा गरेको छु,’ उनले भने, ‘त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने विश्वास हामीले गरेका छौँ।’
अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताए।
निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उनको भनाई थियो।
उनले निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने बताए।
सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन पनि उनले आग्रह गरे।
Shares

प्रतिक्रिया