कारोबार


अर्थको अध्ययन भन्छ– जेनजी आन्दोलन सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनागत कमजोरीहरूको परिणाम

अर्थको अध्ययन भन्छ– जेनजी आन्दोलन सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनागत कमजोरीहरूको परिणाम

नेपालखबर
चैत १, २०८२ आइतबार १७:४७, काठमाडौँ

अर्थ मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले तयार गरेको अध्ययन प्रतिवेदनले गत भदौ २३ र २४ को जेनजी आन्दोलनलाई सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनागत कमजोरीहरूको परिणाम रहेको निष्कर्ष निकालेको छ। 

प्राडा रामप्रसाद ज्ञवाली, डा प्रांशु नेपाल र डा दीपक बहादुर अधिकारीले तयार गरेको प्रतिवेदनले जेनजी पुस्ताको आन्दोलन केवल आकस्मिक वा भावनात्मक विद्रोहको रूपमा मात्र नभएको निष्कर्ष निकालेको हो। 

‘प्रविधिमैत्री, शिक्षित र सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा जोडिएको जेनजी पुस्ताको आन्दोलन केवल आकस्मिक वा भावनात्मक विद्रोहको रूपमा मात्र नभई विगतदेखि नै नेपाली समाजमा जरा गाडेर बसेको सामाजिक, आर्थिक र सुशासनसम्बन्धी संरचनागत कमजोरीहरूको परिणामका रूपमा आएको देखिन्छ।’

कमजोर शासन प्रणाली, राजनीतिक अस्थिरता, नीति र कार्यान्वयनबीचको अन्तर, संस्थागत असक्षमता तथा राज्यका विभिन्न निकायहरूमा युवाको न्यून प्रतिनिधित्वले युवाको असन्तोषलाई थप गहिरो बनाएको अध्ययनको निष्कर्षमा उल्लेख छ।

‘भ्रष्टाचार, बेरोजगारी, अल्परोजगारी, न्यून तलब, उत्पादनमुखी अर्थतन्त्रको अभाव र उद्यमशीलताको सीमित अवसरले युवाहरूलाई आफ्नो भविष्य देशभित्र असुरक्षित रहेको बुझाइ पाइन्छ’, प्रतिवेदनमा उल्लेख छ, ‘व्यापक भ्रष्टाचार र जवाफदेहिताको कमी नै आन्दोलनको प्रमुख कारण भएको स्पष्ट देखाएको छ । यस आन्दोलनमा सहभागी अधिकांश युवाहरू यस अघिका आन्दोलनमा संलग्न नभएकाले यसलाई नयाँ पुस्ताको संगठित विस्फोटको रूपमा बुझ्न सकिन्छ।’

नेतृत्वविहीन भए पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले आन्दोलनलाई व्यापक र संगठित बनाउन निर्णायक भूमिका खेलेको अध्ययनमा उल्लेख छ। आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको प्रमुख कारण सरकारको कमजोरी, संवादहीनता र समयमै उपयुक्त निर्णय लिन नसक्नु रहेको पाइएको पनि उल्लेख गरिएको छ।

आन्दोलनले राजनीतिक पार्टीहरूका आन्तरिक संरचना तथा सामाजिक सोचमा परिवर्तन ल्याएको, नयाँ पुस्ता राजनीतिमा सक्रिय देखिन थालेको, तत्कालीन रूपमा अर्थतन्त्रमा आर्थिक क्षति देखिएपनि विकासको दीर्घकालीन रणनीति तयार गरी पुनर्निमाणको बाटोमा लैजान आवश्यक रहेको औँल्याइएको छ। यसका लागि निजी तथा सरकारी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

हेर्नुहोस् प्रतिवेदन  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad