कारोबार


‘अब मूल्य घट्दैन’ भन्ने मनोविज्ञानले बढायो घरजग्गा खरिदबिक्री, किन्न खोज्नेको आँखामा साना प्लट

‘अब मूल्य घट्दैन’ भन्ने मनोविज्ञानले बढायो घरजग्गा खरिदबिक्री, किन्न खोज्नेको आँखामा साना प्लट

उन्नत सापकोटा
जेठ ४, २०८३ सोमबार १०:३, काठमाडौँ

घरजग्गा व्यापारी योगेश भुजेलका एक जना क्लाइन्टले ६ आना जग्गा २ वर्षदेखि बिक्री गर्न खोजिरहेका थिए। भक्तपुर सिपाडोलमा रहेको सो जग्गा उनी प्रतिआना ३२ लाख रुपैयाँमा बेच्न चाहन्थे।

तर खरिदकर्ता भेट्न भने सकिरहेका थिएनन्। त्यसपछि मूल्य केही घटाएर बेच्न समेत उनी राजी भए। यस्तोमा गएको वैशाख महिना निकै फलदायी बन्यो। किनभने दुई वर्षदेखि बेच्न खोजेको जग्गा भर्खरै उनले आनाको ३२ लाख रुपैयाँमै डिल गर्न सफल भए।   

‘अनेक व्यक्तिहरु जग्गा हेर्न आए। चारकुना नै मिलेको उक्त जग्गा सबैले आँखा लगाउने तर किन्न भने तयार थिएनन्। तर, वैशाख दोस्रो साता जग्गा बिक्री गर्न सफल भयौँ। किन्ने ग्राहक बैंकर हुनुहुँदो रहेछ’, भुजेलले नेपालखबरसँग भने, ‘ऋणको ब्याजदर निकै कम भएको र अब घरजग्गाको मूल्य अब घट्छ भन्ने विश्वास नलागेकै कारण उहाँले सिपाडोलको जग्गा बैना गरिहाल्नुभयो।’

अर्का कारोबारी संयोग कर्माचार्यले पनि बूढानीलकण्ठमा रहेको करुणा अस्पतालनजिकैको चार आनामा बनेको घर बेच्न ग्राहक खोजेको तीन वर्ष बढी भइसकेको थियो। किन्न खोज्नेहरु घर ‘भिजिट’ गर्न पटक–पटक साइटमा आए पनि किनिरहेका थिएनन्। तर, वैशाखको पहिलो साता साढे २ तलाको उक्त घर दुई करोड ८० लाख रुपैयाँमा किनबेच भएको उनले जानकारी दिए।

‘घरजग्गा किनबेच गर्न खोज्नेहरुको चहलपहल बढेको छ। पहिला घरजग्गा हेरेर फर्किनेहरु अचेल फाइनान्सिङ जुटाउन लागिपरेको प्रत्यक्ष अनुभव गरिरहेको छु। यो मनोविज्ञानले घरजग्गा किनबेच गराउन मद्दत पुर्‍याइरहेको पाएको छु। ब्याजदर सस्तो र नयाँ सरकार आएपछि आत्मविश्वास बढेको किनबेच गर्नेबाट सुनिरहेको छु’, कर्माचार्यले भने। 

यी दुवै किनबेचमा भएको एकै प्रवृत्तिका कारण पछिल्ला महिनाहरुमा घरजग्गा कारोबार समेत बढ्दै गएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखमा सर्वाधिक घरजग्गा किनबेच भएको छ। वैशाखमा देशभरका मालपोत कार्यालयहरुबाट ५८ हजार ८८६ लिखत पारित भएको छ। जसबाट सरकारले ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ वैशाखको तुलनामा चालू वर्षको वैशाखमा लिखत पारित १२.३४ प्रतिशतले बढी हो। अघिल्लो आव २०८१/८२ को वैशाखमा ५२ हजार ४१५ लिखत पारित भएको थियो। आव २०८०/८१ को वैशाखमा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ७८२ लिखत पारित भएको थियो। आव २०८१/८२ को वैशाखमा राज्यले घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड रुपैयाँ र आव २०८०/८१ को सोही महिनामा ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठाएको थियो।

नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) का अध्यक्ष विष्णुप्रसाद घिमिरे कित्ताकाट खुल्ने, न्यून बैंक ब्याजदर र स्थिर सरकारको सन्देश बजारमा प्रवाह भएकाले घरजग्गाको कारोबार बढेको बताउँछन्। 

सरकारले गत कात्तिकमा भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै अर्को महिना असारसम्मलाई कित्ताकाट खुलाउने निर्णय गरेको थियो। जसका कारण पनि कारोबारमा निरन्तर सुधार देखिएको उनको भनाइ छ।

उनले नेपालखबरसँग भने, ‘घरजग्गा कारोबारमा सुधार हुँदै गइरहेको छ। महिनैपिच्छे सुधार देखिएको छ। त्यसको पहिलो कारण सरकारले कित्ताकाट खुलाउनु नै हो। दोस्रो भनेको बैंक ब्याजदर न्यून भएकाले मान्छेहरुलाई घरजग्गामा लगानी गर्न आत्मविश्वास जागेको छ। तेस्रो भनेको अर्थमन्त्री स्वर्णिम वाग्लेले रियल इस्टेट उद्योगलाई मास्टर इन्डस्ट्रीको रुपमा व्याख्या गर्नाले सकारात्मक सन्देश बजारमा गएको छ। घरजग्गा उद्योग फस्टाउँदा सयौं अरु उद्योग तथा व्यवसाय लाभान्वित हुने गरेको यथार्थलाई अर्थमन्त्रीले क्यास गर्दा कारोबारमा टेवा पुगेको छ।’

त्यसैगरी, सरकारले २०८२ असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको प्रभावलाई पनि कारोबारवृद्धिको कारण मान्छन् अध्यक्ष घिमिरे।

‘लाइसेन्स प्रणालीले घरजग्गा कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सघाएको पाएका छौं। सरकारलाई राजस्व संकलनमा पनि टेवा पुगिरहेको छ। गलत ढंगले हुने गरेका घरजग्गा कारोबार लाइसेन्स प्रणालीका कारण न्यूनीकरण हुँदै गएकाले कारोबारमा प्रभाव परेको देखिन्छ’, उनले भने।

यस्तै, नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघका अध्यक्ष विनोद सुवेदी अहिले कारोबार बढ्नुको कारणलाई केलाउन नेपालमा घरजग्गा कारोबारमा देखिएका संकटको चक्र बुझ्नुपर्ने बताउँछन्। 

नेपालको घरजग्गा बजारमा २०५४, २०६४/६५ र २०७८ सालमा गहिरो संकट देखिएका थिए। यही चक्र दोहोरिने हो भने घरजग्गामा अर्को संकट २०९०/९२ मा देखिन सक्ने संकेत देखापरिरहेको सुवेदीको भनाइ छ।

उनले भने, ‘संकट आउनुअघि घरजग्गा बजार बढेको पाइन्छ। अहिले हामी त्यही चरणबाट अघि बढिरहेका छौँ। २०९०/९२ साल तिर चक्रअनुसार बजार क्रयास हुने देखिन्छ। त्यसअघि बजार बढ्ने ट्रेन्ड अहिले देखिन्छ।’

योसँगै घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर न्यून भएकाले लगानी बढेर कारोबार उकालो लागेको सुवेदी बताउँछन्। 

आम्दानी स्रोत राम्रो भएका ग्राहकलाई सहजै बैंक ऋण प्राप्त भइरहेकाले केही महिनायता कारोबार निरन्तर बढ्न सहयोग पुर्‍याइरहेको उनको दाबी छ। साथै झण्डै दुई तिहाइ बहुमतसहित बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकार स्थिर हुने अपेक्षासहित लगानीकर्तामा आशा थपिएको उनको भनाइ छ। 

‘हिजो सरकारसँग आशा र अपेक्षा दुवै कम थियो। अहिले नयाँ सरकार बलियो मतसहित निर्माण भएकाले आशा पलाएको हो। यति भन्दै गर्दा घरजग्गामा ठूलो लगानी भने कम भइरहेको छ। व्यक्तिगत ग्राहकबाट हुने घरजग्गा कारोबारको संख्या बढ्दै गइरहेको छ’, सुवेदीले भने। 

घरजग्गा बजारमा ठूलो लगानी आउन नसकेकै कारण पछिल्लो समय काठमाडौंसहितका सहरी क्षेत्रमा नयाँ हाउजिङ तथा अपार्टमेन्ट परियोजना निजी क्षेत्रले ल्याउन नसकेको व्यवसायी बताउँछन्। 

नेपाल राष्ट्र बैंकले चैत ३० गते सार्वजनिक गरेको रियलइस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी तथ्यांकले मधेश प्रदेशबाहेक अरु सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरु सबैभन्दा बढी किनबेच हुने गरेको देखाउँछ। मधेश प्रदेशमा २० आनाभन्दा माथिका जग्गाहरु बढी कारोबार हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ। 

घरजग्गा व्यवसायीहरु पनि साना जग्गा वा त्यसमा निर्माण भएका घर ग्राहकको रोजाइमा पर्ने गरेको बताउँछन्। 

घरजग्गा कारोबार संख्याका हिसाबले मधेश प्रदेश अग्रस्थानमा रहेकामा त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन्। कर्णाली र सुदूरपश्चिम प्रदेश घरजग्गा कारोबार कम हुने प्रदेश हुन्। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।  

यसका साथै घरजग्गा व्यवसायीहरुले चलनचल्ती र सरकारी थैलीको दररेटमा रहेको ठूलो अन्तर घटाएर कारोबार गर्न राजस्व घटाएर भए पनि किनबेचको वातावरण बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। यसले घरजग्गा कारोबारको रकमलाई यथार्थपरक बनाउन सघाउने व्यवसायीहरुको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad