नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
संक्षिप्त सूचीमा चारजना उम्मेदवार छनोट गरेर छलफल गरेको समितिले तीनजनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको हो।
जेठ ८ गते समितिले उम्मेदवारहरुसँग अर्थ मन्त्रालयमा छलफल गरेको थियो। संक्षिप्त सूचीको पहिलो नम्बरमा रहेका डा. नवराज अधिकारी सिफारिसमा परेका छैनन्। अधिकारी बोर्डकै पूर्वकार्यकारी निर्देशक हुन्।
मन्त्रालय स्रोतका अनुसार विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ। आचार्य बोर्डकै कार्यकारी निर्देशक हुन्। क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भवत: यही बैठकले सिफारिसमा परेका तीनजनामध्येबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने तयारी छ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए।
४७ मध्येबाट चार जनाको संक्षिप्त सूची निकालेर अन्तर्वार्ता तथा प्रस्तुतीकरण भएर समितिले तीनजनाको नाम अर्थ मन्त्रालयमा पठाएको छ। अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानेछन्।
Shares

प्रतिक्रिया