कारोबार


पुनर्वास ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १८ हजार ग्राहकलाई भरपर्दो बिजुली प्रवाह हुने

पुनर्वास ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १८ हजार ग्राहकलाई भरपर्दो बिजुली प्रवाह हुने

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:१२, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३३/११ केभी, ६/८ एमभीए क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। 

सबस्टेसन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक  प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।

प्राधिकरणका अनुसार उक्त सबस्टेसन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिलबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए। 

सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले प्राधिकरणको विभिन्न कार्यलयमा रहेका ६/८ एमभीए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक उपकरणहरूको उपयोग गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेशन सञ्चालनमा ल्याएको हो।

बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीले सबस्टेसन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने बताए। 

प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक यस सबस्टेशनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। 

'यसबाट विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनुका साथै भविष्यको बढ्दो विद्युत माग व्यवस्थापन गर्न पनि सहज हुनेछ,' उनले भने। प्राधिकरणले सबस्टेसन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad