कारोबार


निउरो बेचेरै ६० हजार आम्दानी

निउरो बेचेरै ६० हजार आम्दानी

जमुनावर्षा शर्मा
जेठ १४, २०७७ बुधबार ९:४९,

बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ। कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन। बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न जानु उनको अहिलेको दिनचर्या हो।

पोखरा महानगरपालिका–१९, लामाचौरको सडकमा हातभरि काली निउरो लिएर बेच्दै गर्दा भेटिकी तामाङले आफूलाई बन्दाबन्दीले खासै असर नगरेको बताइन्।

उनले भनिन्, ‘कोरोना आएको छ भनेर लकडाउन भएको रे, हामी त गाउँमा काम गर्छौं, एक दिन निउरो खोज्न जान्छौं, अर्को दिन निउरो बेच्न आउँछौँ, निउरो बिकिहाल्छ, समस्या छैन।’

उनी कहिले एक्लै त कहिले साथीभाइसँग निउरो खोज्न जाने गर्छिन्। निउरोले बन्दाबन्दीमा पनि दिन सप्रिएको उनको भनाइ छ।

बिहान काली निउरो पछ्यौरामा बाँधेर बिक्रीका लागि बजार झरेकी उनले भनिन्, ‘म बिहान ५ बजे साठी मुठा निउरो लिएर बेच्न बजार झरेकी हुँ, पाँच घण्टा लाग्यो, पचास मुठा बेचिसकेँ, अब दश मुठा बाँकी छ, एक छिन यतै बसेर बेच्छु।’

उनले एक मुठा निउरोको रु ५० मा बिक्री गरेकी छन्।

‘अहिले निउरो पाइने याम हो, हरेक वर्ष म निउरो टिपेर बिक्री गर्ने गर्छु, हरेक याममा ६० हजार रुपियाँ जतिको निउरो बिक्री गर्दै आएकी छु, दिनमा लगभग तीन हजारको निउरो बिक्री हुन्छ।’

त्यसो त उनले टुसा पाइने समयमा त्यसको व्यापारसमेत गर्दै आएको बताइन्। निउरो र टुसाको व्यापारबाट वार्षिक रु एक डेढलाख जति कमाइ हुने उनको भनाइ छ ।

उनी निउरो टिप्न खासै गाह्रो नहुने तर सिस्नो र जुकाबाट भने जोगिनुपर्ने बताउँछिन्।

‘वर्षा याममा निउरो जति पनि पाइन्छ तर जुकाले टोक्ने र सिस्नोले पोल्ने गर्छ, डेढ घण्टाको जंगलमा बिहान ७ बजे गएर निउरो लिएर फर्कँदा बेलुका ६ बज्ने गर्छ।’

लामो समयदेखि पोखराको चिप्लेढुङ्गामा निउरोको व्यापार गर्दै आएकी सन्तु क्षेत्रीले यस याममा भने पर्याप्त निउरोको व्यापार गर्न नपाएको बताए।

‘म यो सिजनमा निउरो मात्रै व्यापार गर्थेँ तर अहिले बन्दाबन्दीले गाउँबाट निउरो झरेको छैन, केहीले आफैँ टिपेर बिक्री गर्दै आएका छन्। हामीले पर्याप्त खरीद गरेर बिक्री गर्न पाएका छैनौँ’ निउरो व्यापारी क्षेत्रीले भने।

पोखरा आसपासका तालतलैया र जंगलका झाडीमा निउरो पाइन्छ। चिप्ले निउरो र मोटो डाँठ भएको काली निउरो दुई खालका हुन्छन्। विशेष गरी अचार र तरकारी खान मोटो डाँठ हुने निउरो ग्राहकले खोज्ने गरेको क्षेत्रीको भनाइ छ। विभिन्न क्षेत्रका व्यापारीसँग निउरो खरीद गरेर रु ८० देखि एक सयसम्म बेच्ने गरेको र यस याममा जम्माजम्मी तीन सय मुठा मात्र बेच्न सकेको उाले बताए।

निउरो खरीद गरिरहेकी पोखरा ८, न्यूरोडकी शर्मिला गुरुङले भनिन्, ‘निउरोको अचार र तरकारी स्वादिष्ट हुन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad