नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सेचञ्ज (नेप्से) र सीडीएससीलाई पुँजी बजार विकास मार्गचित्र कार्यान्वयनको तयारी थाल्न निर्देशन दिएको छ।
बोर्डका अध्यक्ष डा. गोपाल भट्टले आज (बिहीबार) नेप्से र सीडीएस एण्ड क्लिरिङ लिमिटेड (सीडीएससी) प्रतिनिधिलाई बोर्डको कार्यालयमा बोलाएर सेबोनले ल्याएको पुँजी बजार विकास मार्गचित्र कार्यान्वयन थाल्न भनेका हुन्।
सेबोनले बुधबार महत्त्वाकांक्षी लक्ष्यसहितको १० वर्षे पुँजीबजार विकास मार्गचित्र ल्याएको थियो।
सेबोनमा अध्यक्ष भट्टसँग छलफलमा सहभागी भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले सेबोनका अध्यक्ष भट्टसँग पुँजी बजार विकास मार्गचित्र कार्यान्वनयको लागि नेप्सेले गर्नुपर्ने कामका बारेमा छलफल भएको जानकारी दिए।
पराजुलीले भने, ‘सेबोनले ल्याएको पुँजी बजार विकास मार्गचित्र कसरी कार्यान्वयन गर्न सकिन्छ, कार्यान्वयनमा के-के समस्या छन् र के-के विषयमा तयारी गर्नुपर्छ भनेर छलफल भएको छ।’

सेबोनले मार्गचित्रमा सर्ट सेलिङ सेवा सञ्चालन गर्ने, इन्ट्रा-डे कारोबार गराउनेलगायतका कार्यक्रम उल्लेख छन्। अध्यक्ष भट्टले तत्काल सर्ट सेलिङ सेवा र इन्ट्रा-डे कारोबार गराउने तयारी थाल्न नेप्से र सीडीएससीलाई निर्देशन दिएका हुन्।
नेप्सेले भने सर्ट सेलिङ सेवा र इन्ट्रा-डे कारोबार सञ्चालन गर्नका लागि आवश्यक कानुन, प्रविधि र जनशक्तिको आवश्यकताबारे सेबोनलाई जानकारी गराउने पराजुलीले बताए।
सेबानका अध्यक्ष भट्टले पुँजी बजार विकासका लागि बोर्डले तय गरेको नीति कार्यान्वयनका लागि ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेस गर्न निर्देशन दिएका छन्।
‘सर्ट सेलिङ सेवा सञ्चालनका लागि आवश्यक कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचान गरी यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न बोर्ड सबै प्रकारको सहजीकरणको लागि तयार भएको समेत जानकारी गराउनुभएको छ,’ सेबोनले जारी विज्ञप्तिमा भनिएको छ।
उक्त छलफलमा सेबोनले ३ वर्षभन्दा लामो समयदेखि रोकेर राखेको २ वटा विनियमावली स्वीकृत गरिदिन पनि नेप्सेका अधिकारीहरूले आग्रह गरेका थिए।
नेप्सेले २०८० वैशाख र असारमा सूचीकरण विनियमावली संशोधन गर्न र धितोपत्र व्यवसायी सदस्यता तथा सुपरीवेक्षण विनियमावली स्वीकृत गर्न सेबोनमा पठाएको थियो। दुवै नियमावली अहिलेसम्म स्वीकृत भएका छैनन्।
Shares

प्रतिक्रिया