कारोबार


४१ जिल्लामा पुग्यो निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा

४१ जिल्लामा पुग्यो निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ७:३८,

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभरका ४१ जिल्लाका विभिन्न सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको जनाएको छ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरेर स्थानीय निकायहरु, स्वास्थ्य, संस्थाहरु र सामुदायिक माध्यमिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको जनाएको हो।

प्राधिकरणले यी स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न विभिन्न कम्पनी अनुदान दिने सम्झौता गरेको थियो। मुलुकभरका जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर दुई वर्षमा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने सम्झौता भए पनि समयावधिमा भने परियोजना नै सकिएका छैनन्।

प्राधिकरणका अनुसार ४१ जिल्लाका स्थानीय तहका नगरपालिका, गाउँपालिका र वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमध्ये हेल्थ पोष्ट, हेल्थ सेन्टर, सामुदायिक अस्पताल तथा सामुदायिक माध्यमिक विद्यालयहरुमा ब्रोडब्यान्ड सेवा पुगेको छ।

उक्त सार्वजनिक संस्थाहरूले २ वर्षसम्म निःशुल्क रुपमा इन्टरनेटको प्रयोग गर्न पाउनेछन्। प्राधिकरणले कम्पनीहरुलाई अनुदान दिँदा दुई वर्षसम्म निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख गरेको छ। जसअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले काभ्रे, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका सार्वजनिक स्थलमा ब्रोडब्यान्ड पुर्‍याएको छ।

यी जिल्लाका ७ सय ४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउन नेपाल टेलिकमलाई प्राधिकरणले २१ करोड १६ लाख अनुदान दिने सम्झौता गरेको थियो।
त्यस्तै, मर्कन्टायल कम्युनिकेसनले १० वटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरेको छ।

उसले इन्टरनेट विस्तार गरेका जिल्लाहरुमा दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङगा, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासवा, अछाम, बजाङ र बाजुरा छन्।
त्यस्तै, इन्टरनेट सेवा प्रदायक सुबिसुले ११ जिल्लाका विभिन्न सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याएको छ।

सुबिसुले ब्रोडब्यान्ड पु¥याएका जिल्लाहरुमा गोरखा, धादिङ, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुसा, सप्तरी, सिरहा र महोत्तरी छन्।

जाजरकोट, कालिकोट, रोल्पा, पूर्व रुकुम, पश्चिम रुकुम, डोल्पा, हुम्ला, जुम्ला र मुगु जिल्लामा वर्ल्डलिंक कम्युनिकेशनले इन्टरनेट विस्तार गरेको छ।

भायानेट कम्युनिकेसनले बैतडी, डडेल्धुरा, दार्चुला, डोटी र टेक माइन्ड्स नेटवर्कले दैलेख, सुर्खेत, सल्यानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरेको छ।

अन्य ८ जिल्लामा भने ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ती ८ जिल्लामा भौतिक पूर्वाधारको काम ५० प्रतिशत सकिएको छ।

ती ८ जिल्लाहरुमा भोजपुर, धनकुटा, पाँचथर खोटाङ, तेह्रथुम, मनाङ, बागलुङ र म्याग्दी छन्।

यी ८ जिल्लामा टेक माइन्ड्स नेटवर्कले ब्रोडब्यान्ड विस्तारको काम गरिरहेको छ।

बाँकी जिल्लाहरुमा लकडाउन खुला भएपछि जडानको कार्य अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

साथै कोभिड–१९ रोगको महामारीका कारण विभिन्न स्थानीय निकायहरुमा रहेका विद्यालय भवनहरु क्वारेन्टिनका लागि प्रयोग भएका तथा स्थानीय तह र स्वास्थ्य निकायहरुलाई सूचना आदानप्रदान गर्न इन्टरनेट सेवा सहज भएको जनाएको छ।

दूरसञ्चार ऐन, २०५३ ले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकास, विस्तार सञ्चालनका लागि प्राधिकरणले एक कोष खडा गर्ने सक्ने भनेको छ । सोही व्यवस्थाअनुसार प्राधिकरणले २०५६ पुसमा उक्त कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .