कारोबार


पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट

नेपालखबर
असार १८, २०७७ बिहिबार १५:१७,

कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन्।

घर बहाल सरोकार महासंघको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले आज पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले बहालमा बस्नेहरुलाई छुट दिएको जानकारी दिए।

उनले छुट दिनेहरुको लगत संकलन गर्ने काम चलिरहेकाले यो संख्या अझ बढी हुनसक्ने उल्लेख गरे। समितिका अनुसार घरधनीले मासिक भाडामा ५० देखि शतप्रतिशतसम्म छुट दिएका छन्। सरकारले समेत बन्दाबन्दीका कारणले प्रभावितहरुका लागि घरभाडामा सहुलियत दिन आग्रह गरेको थियो।

समितिका निर्वतमान अध्यक्ष एवं महासंघका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले अहिलेको विषम अवस्थाका कारणले उद्योग, व्यवसाय तथा पेशाकर्मीहरु समेत प्रभावित भएकाले बहालमा बस्नेहरुलाई छुट दिन महासंघले देशव्यापी रुपमा आह्वान गरेको बताए। संस्थाले घरधनी तथा बहालमा बस्नेहरुबीच समन्वय र सहकार्य गर्दै आएको बताउँदै उनले विषम अवस्थामा धनको भन्दा पनि मनको धनी भएर घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले समेत उनीहरुलाई छुट तथा सहुलियतका कार्यक्रम ल्याउन माग गरे।

कार्यक्रमका सहभागीहरुले घरधनी र बहालमा बस्ने दुवै पक्षलाई मर्का नपर्ने गरी आपसी समन्वयमा छुट दिइनुपर्ने माग गरेका छन्।

कार्यक्रममा दुई महिनाको घर बहाल रु चार लाख २५ हजार छुट दिएका पोखरा–८ पृथ्वीचोक निवासी लालबहादुर गुरुङलाई दोसल्लाबाट सम्मान गरिएको थियो। आपतविपद्को समयमा गुरुङले आफ्नो घरमा सञ्चालित होटल तथा अन्य व्यवसायको चैत र वैशाख महिनाको पूरै भाडा रकम छुट दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad