पर्यटन व्यवसायीहरुले लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क मिनाह गर्न सरकारलाई आग्रह गरेका छन्। साथै उनीहरुले लकडान सुरु भएपछि २ वर्षको लागि विद्युत् शुल्कमा ५० प्रतिशत छुट गरिदिन समेत आग्रह गरेका छन्।
पर्यटन क्षेत्रका दुई दर्जन संघसंस्थाका प्रतिनिधिले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको पर्यटन व्यवसायी तथा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए।
कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय ठप्प छ भने यसै कारण लाखौंका रोजगारी समेत गुमेका छन्।
पर्यटकीय क्षेत्र ठमेललगायत अन्य क्षेत्रका घरधनी र व्यवसायीहरु आफ्नो घर तथा व्यवसाय बन्द गरी बसिरहेको अवस्थामा पनि विद्युतको लाखौं रकम सरकारलाई बुझाउनु पर्ने अवस्था छ।
कोरोना संकटका कारण ठमेललगायत मुलुकभरको पर्यटन व्यवसाय ठप्प छ।

प्रतिक्रिया