सिमेन्ट उद्योगीको लामो प्रतीक्षापछि अब बजारमा ग्रेडिङ तोकिएको सिमेन्ट आउने भएको छ।
ग्रेडिङ तोकिदिन भन्दै सिमेन्ट उद्योगीले सरकारसमक्ष आवेदन दिन थालेपछि सरकारले त्यो प्रक्रिया सुरु गरेको हो।
सरकारले वैशाखको अन्तिम साता नै सिमेन्ट ग्रेडिङ गर्ने निर्णय गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको थियो। त्यसबीचमा लकडाउनले गर्दा काम अगाडि बढ्नसकेको थिएन।
नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अहिलेसम्म आठवटा उद्योगले ग्रेडिङको लागि आवेदन दिएको बताए।
‘यही महिनामा यी उद्योगको सिमेन्ट परीक्षणको लागि टोली पठाउँछौँ’, पुडासैनीले नेपालखबरसँग भने, ‘सबै प्यारामिटर ठीक छ भने इजाजत दिन्छौँ।’
विभागले लामो समयदेखिको प्रयासका बीच ग्रेडिङ गर्ने निर्णय गर्दै वैशाखको अन्तिम हप्ता राजपत्रमा प्रकाशित भएका थियो।
निर्णय गरेको लामो समय भए पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र लकडाउनका कारण काम रोकिएको थियो।
कुनै पनि सिमेन्टलाई ग्रेडिङ गर्नुअघि उक्त सिमेन्टको प्यारामिटर परीक्षण गरेर त्यसलाई ३३, ४३ र ५३ ग्रेड तोकिनेछ।
ग्रेडिङको लागि केही उद्योगले आवेदन दिएको र आफूहरु ग्रेडिङको पर्खाइमा रहेको नेपाल सिमेन्ट उत्पादक संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद पोख्रेलले बताए।
‘हामीले विभागमा निवेदन दिइसकेका छौँ’, पोख्रेलले भने, ‘लकडाउन खुला भयो अब छिट्टै होला।’
नेपालमा अहिले झण्डै पाँच दर्जन उद्योगका सिमेन्ट भए पनि थोरै संख्याले मात्र आवेदन दिएका छन्। ग्रेडिङ गर्न अनिवार्य भने छैन।
अन्तर्राष्ट्रियस्तरमा सिमेन्टको उत्पादन ग्रेडिङ छुट्याएर हुने भए पनि नेपालमा अहिलेसम्म सुरु भएको छैन।
अन्तर्राष्ट्रिय कम्पनी र प्रोजेक्टहरुले उच्चस्तरको सिमेन्ट माग गर्ने भएकाले उनीहरुलाई नेपाली सिमेन्ट उपलब्ध गराउन पनि ग्रेडिङ आवश्यक छ।
ठूला प्रोजेक्टमा ५३ ग्रेडको सिमेन्टको माग हुँदै आएको छ। नेपालमा त्यसरी नछुट्याएको हुनाले वर्षेनी अर्बौंको सिमेन्ट विदेशबाट आइरहेको छ। सोही कारण स्वदेशी उद्योग गुणस्तरीय हँुदाहँुदै पनि ठूला आयोजनामा प्रयोग हुनबाट वञ्चित छन्।
विशेष गरी अन्तर्राष्ट्रिय ठेक्का प्रतिस्पर्धा (आईसीबी)का कारण ठूला आयोजनाका लागि सिमेन्ट आयात भइरहेको छ। ग्रेडिङ प्रणाली लागू गर्ने हो भने भारतबाट सिमेन्ट नआउने व्यवसायीको दाबी छ।
‘ग्रेडिङ गर्दा उपभोक्ताले कुन स्तरको सिमेन्ट चाहिन्छ, त्यही पाउन सक्छन्’, पोख्रेलले भने, ‘ठूला प्रोजेक्टहरका ५३ ग्रेडको सिमेन्ट खोज्छन्।’
ग्रेड छुट्याउँदा उपभोक्ता र प्रोजेक्टको आवश्यकताअनुसारको सिमेन्ट प्रयोग गर्न पाउने उनको भनाइ छ।
अहिले सानो संख्यामा निवेदन परे पनि बजारमा ग्रेडिङको सिमेन्ट आउन थालेपछि अरुले पनि चासो देखाउने पुडासैनीको भनाइ छ।
ग्रेडिङ सुरु भएपछि नेपाली सिमेन्टले पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार ३३, ४३ र ५३ ग्रेड भनेर वर्गीकरण गरिनेछ। सिमेन्टले कम्तीमा ३३ ग्रेड पाउनेछन् भने गुणस्तरका आधारमा ४३ र ५३ ग्रेड भनेर छुट्याइने उनले बताए।
नेपालमा अहिले ओपीसी, पीपीसी र पीएससी भनेर तीन किसिमका सिमेन्ट उत्पादन हँुदै आएका छन्।
अहिले सञ्चालन भइरहेका ६२ सिमेन्ट उद्योग छन्। त्यसमध्ये २१ वटाले आफैँ क्लिंकर उत्पादन गरिरहेका छन्। यी सिमेन्ट उद्योगमा झण्डै ४ खर्ब लगानी भएको छ भने ५५ हजारले रोजगारी पाएका छन्।

प्रतिक्रिया