संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाइजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्।
बुधबार मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन्।
उनले आन्तरिकतर्फ दुईवटा मात्र ट्विनअटर जहाज भएको र त्यसले माग धान्न र दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकोले तत्काल खरिद योजना अघि बढाउनुपर्ने बताए।
नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष, सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न उनले भनेका छन्।
उनले नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक एयरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए।
नेपाल एयरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पत्ति व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न पनि मन्त्री भट्टराईले आग्रह गरेका छन्।
मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारबाही गर्न अध्यक्ष सुशील घिमिरेलाई निेर्देशन दिएका छन्।
खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन, साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत उनले अनुरोध गरेका छन्।
Shares

प्रतिक्रिया