संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आउँदो डिसेम्बरसम्म काम सम्पन्न गर्नेगरी भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा भइरहेको बताएका छन्। शुक्रबार विमानस्थलको निरीक्षण गर्न भैरहवा आएका मन्त्री भट्टराईले कोरोना कहरबीच पनि निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्नेगरी काम जारी रहेको जनाए।
‘बाह्य मुलुकबाट ल्याउनुपर्ने जनशक्ति र उपकरण समयमै ल्याउन सकियो भने डिसेम्बरसम्म निर्माणको सबै काम सकिन्छ’, उनले भने।
केही उपकरण र उपकरण जडान गर्ने दक्ष जनशक्ति कोरोनाका कारण ल्याउन नसकिएकाले काममा केही ढिलाई भएको उनले बताए।
उनले भने, ‘कोरोनाका कारण प्राविधिकहरु आउन डराइरहेका छन्। कोरोना केही कम हुँदावित्तिकै आवश्यक सबै जनशक्ति र उपकरण विमानस्थलमा आइपुग्छन्। जतिसक्दो छिटो दक्ष जनशक्ति र उपकरण आउँछन्, उति छिटो विमानस्थल निर्माण सकिने हो।’
नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने जनाउँदै भट्टराईले सबै पक्षको समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोषजनकरुपमा अघि बढेको बताए।
‘यस्तोबेला पनि हामीले आयोजनालाई निरन्तरता दिनसक्यौं, यो ठूलो उपलब्धी हो’, उनले भने, ‘अब काम सकिएसरह नै हो। सबै सहज भयो भने छिट्टै यहाँबाट हामीले अन्तर्राष्ट्रिय उडान गर्छौं।’

विमानस्थल निर्माण सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी तत्कालै सञ्चालनमा ल्याइने उनले जनाए। नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने र त्यसपछि अन्तर्राष्ट्रिय उडान गर्नका लागि आवश्यक प्रमाणीकरण लगायतका काम अघि बढाउने जानकारी दिए।
उनले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न मापदण्ड छन्, ती पूरा गर्नुपर्छ। त्यसको हामीले तयारी गरिरहका छौँ। निर्माण सम्पन्न हुनमात्रै बाँकी हो।’
पोखरेलले हवाइरुटका विषयमा कुनै समस्या नभएकोसमेत स्पष्ट पारे। विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको जनाए । दक्ष कामदार कोरोनाले गर्दा आउन नसक्दा केही महत्वपूर्ण काममा भने ढिलाई भएको बताए।
एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएको बताउँदै उनले उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्ड लगायतका मुलुकबाट पनि जनशक्ति ल्याउनु पर्ने तर कोरोनाका कारण ल्याउन नसकिएको जानकारी दिए । करिब २६ दक्ष जनशक्ति चीनबाट ल्याउनुपर्ने आयोजनाले जनाएको छ। अहिले चिनियाँ ३५ कामदारले आयोजनामा काम गरिरहेका छन्।
कोरोना महामारीमा पनि ८० जना कामदारले नियमित काम गरेको र अहिले करिब २९० जनाले काम गरिरहेको अधिकारीले बताए।
‘केही महत्वपूर्ण उपकरण जडानका लागिमात्रै दक्ष जनशक्ति नभएका हुन्, अन्य बाँकी काम तीव्ररुपमा भइरहेको छ’, उनले भने।
विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङ, रंगरोगन लगायतका काम जारी रहेको बताए। धावन मार्गमा मार्किङको सकिएको र लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको अधिकारीले जानकारी दिए।

फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ। धावन मार्गको वरीपरी पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको उनले जनाए। टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइट लगायतका उपकरणहरु चीनबाट ल्याउनु पर्ने भएकाले अझै विमानस्थलमा आइनपुगेको अधिकारीले जानकारी दिए।
उनले भने, ‘कतिपय उपकरण चीनको लासामा आइपुगेका छन् तर केही प्राविधिक कारणले रोकिएको छ। ती छिट्टै आउँछन्। यस्तै केही उपकरण विमानस्थलमा र केही काठमाडौं ल्याइसकिएको छ।’
विमानस्थलको अहिलेसम्म ९२.५ प्रतिशत प्रगति भएको छ। विमानस्थल निर्माणको काम चौथोपटक थपिएको समयमा पनि नसकिएपछि पाँचौपल्ट थप गरी २०२० को डिसेम्बरसम्म पुर्याइएको हो। आयोजना चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको छ।
Shares

प्रतिक्रिया