निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ।
कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्र्रो गन्तव्य हो। एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए।
उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ। दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ। ‘अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ। उच्च सर्तकता अपनाएर उडान सुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भने।
आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिए। यतीले हालका लागि प्रमोसनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ।
यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ। केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ।
विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटीआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्विनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन्। यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ। रासस

प्रतिक्रिया