कारोबार


‘क्लिनफिड लागू भए नेपालको विज्ञापन बजार १० अर्बले बढ्छ’

‘क्लिनफिड लागू भए नेपालको विज्ञापन बजार १० अर्बले बढ्छ’

नेपालखबर
असोज २२, २०७७ बिहिबार १३:४०,

विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताएका छन्। क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उनले बताए।

अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गतेदेखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार छोटो समय भित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने बताए। क्लिनफिड लागू भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आकलन गरिएको बताए। जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उनको भनाई छ।

उनले भने, ‘नेपाली टेलिभिजन, नेपाली छापा माध्यम र नेपाली रेडियो माध्यमहरुको पनि जुन विज्ञापन बजार संकुचन भइरहेको छ र क्लिनफिड पछि विदेशी ब्राण्डहरुले नेपाली टेलिभिजनमा, नेपाली छापामा र नेपाली रेडियोमा जुन खालको विज्ञापन गर्छ यसले करिब एक हजार करोड भन्दा बढीको विज्ञापन केही समयको अन्तरालमा बढाउँछ। त्यसो हुँदाखेरी विदेशी उत्पादनहरुको विज्ञापन यहिं बनाउँछौं। यहिं उत्पादन गर्दाखेरी कलाकारहरु, प्राविधिज्ञहरु, विज्ञापन एजेन्सी, विज्ञापन सर्जकहरु सबैले काम पाउने भयो। टेलिभिजनले र सञ्चार माध्यमलाई पनि विज्ञापनको वृद्धि हुने भयो। त्यसो हुनाले अहिलेको जुन १२ सय करोडको विज्ञापन बजारलाई २५ अर्ब बनाउन सकिन्छ।’

कत्तिक ७ गतेपछि क्लिनफिड हटाउँदा केही समस्या हुने भएपनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उनले बताए। विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदासम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उनको भनाई छ। प्राविधिक समस्याका नाउँमा फेरि समय थप गर्न नहुनेमा उनले जोड दिए।

ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको पनि उनले बताए। करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिनफिड लागू गर्ने समय थप गर्न जरुरी नभएको बताए।

उनले भने, ‘प्राविधिक समस्या जुन आउन सक्छ त्यसलाई सम्बोधन गर्न सकिन्छ। तर त्यो सम्बोधन गर्ने नाममा हामीले जुन ६ महिना बढाऔं, एक वर्ष बढाऔं भनेका छौं यो ऐन आएको एक वर्ष भइसकेको छ। एक वर्ष पछि कार्तिक ७ गतेलाई डेडलाइन मानेर हामी अगाडि बढेको हो। त्यसकारणले निर्वाधरुपमा जानुपर्छ। मैले प्राप्त गरेको जानकारी अनुसार करिब ९० प्रतिशत विदेशी टेलिभिजनहरुले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेका छन्। बाँकी १० प्रतिशतका लागि हामीले अन्य कुराहरु सोचिराख्नुपर्ने जरुरी छैन।’

कुनैपनि विदेशी उत्पादनले नेपालका लागि बजार प्रवद्र्धन गरिरहेको छ भने आफ्नै देशको टेलिभिजनमा विज्ञापन गरी गरेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि पनि क्लिनफिड आवस्यक रहेको उनको भनाई छ। क्लिनफिड लागू भएपनि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउँदा नेपालको विज्ञापन बजार बढ्ने उनले बताए।

यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु पनि आत्मनिर्भर बन्न सक्ने उनको भनाई छ। यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad