कारोबार


सर्वसाधारणलाई जोड्दै ‘कनेक्ट आईपीएस’ : खर्बमा हुनथाल्यो विद्युतीय कारोबार

सर्वसाधारणलाई जोड्दै ‘कनेक्ट आईपीएस’ : खर्बमा हुनथाल्यो विद्युतीय कारोबार

सन्तोष न्यौपाने
मंसिर २१, २०७७ आइतबार १४:५४,

केही समयअघि नेपालको अग्रणी बैंक नबिलले आफूलाई ‘पूर्ण डिजिटाइज्ड’ अभियान भन्दै ‘डिजीबैंक’ घोषणा गर्‍यो।

नबिलले ‘डिजीबैंक’लाई बैंकभित्रको पनि बैंक भनेको छ। यसले बैंकलाई डिजिटल प्रणालीतर्फ रुपान्तरण गर्ने काम गरिरहेको छ। उसले ग्राहकलाई लाइनमा नलगाउने नीतिसहित विद्युतीय कारोबारमा फड्को मार्ने रणनीति ल्याएको छ।

पछिल्लो समय नबिलजस्तै अन्य बैंकहरु पनि आफ्नो कारोबारलाई सकेसम्म डिजिटाइज्ड गर्न लागिपरेका छन्।

बैंकहरु जस्तै सपिङ मल, मोबाइल वालेटदेखि अन्य इ–कमर्सका प्लेटफर्म विस्तार हुँदै छन्। कोरोना संकटले उपभोक्तालाई पनि डिजिटल कारोबार गर्नतर्फ प्रेरित गरिरहेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले पनि यही कुरालाई पुष्टि गर्छ। उसको असोज महिनाको वित्तीय विवरण हेर्ने हो भने मुलुकमा विद्युतीय कारोबार उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बाट सञ्चालित कनेक्ट आईपीएस, आईपीएस र ईसीसीबाट भएको कारोबार रकम उल्लेख्य रुपमा बढेको छ।

राष्ट्र बैंकको असोज महिनाको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कनेक्ट आईपीएसबाट हुने कारोबार झण्डै दोब्बर भएको छ। साउन महिनामा ४७ अर्ब ३६ करोड ७० लाखको कारोबार असोजमा आइपुग्दा ८८ अर्ब ९७ करोड ९० लाख पुगेको छ।

त्यस्तै, आईपीएसबाट असार महिनामा १ खर्ब ५६ अर्ब ३६ करोडको कारोबार भएकोमा असोजमा २ खर्ब ३४ अर्ब ४९ करोड ८० लाख पुगको छ। ईसीसी (चेक) कारोबार पनि ६ खर्ब ८७ अर्बभन्दा माथि पुगेको छ।

कारोबार रकममात्र नभएर कारोबार संख्या पनि दोब्बर धेरै भएको छ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले बैंकहरु एकआपसमा जोडिनु र सर्वसाधारणको कारोबारदेखि व्यावसायिक कारोबार गर्न सकिने सुविधाले कारोबार संख्या र रकम दुवै उल्लेख्य वृद्धि भएको बताए।

‘बैंकहरु एक आपसमा जोडिँदा सर्वसाधारणको सानोदेखि व्याावसायिकस्तरको ठूलो कारोबारसम्म यसबाट गर्न सकिने भएको छ’, प्रधानले नेपालखबरसँग भने।

कनेक्ट आईपीएसले एक बैंकबाट अर्को बैंकमा रकम पठाउने सुविधा मात्र दिएको छैन। यसबाट ग्रामीण क्षेत्रमा पुग्नुपर्ने बैंकको कामलाई राहत समेत मिलेको छ।

गाउँगाउँमा शाखारहित बैंकबाट हुने कारोबार बढ्नु वा गाउँपालिकामा स्थापना भएका बैंकमा कारोबार बढ्नुमा यसको ठूलो सहयोग छ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले गाउँ–गाउँमा पुगेका कुनै पनि एक बैंकको शाखाबाट सबै बैंकको कारोबार गर्न सहज भएको बताए।

‘सबै ठाउँमा सबै बैंक पुग्नुपर्छ भन्ने छैन’, शाक्यले भने, ‘कनेक्ट आईपीएसजस्ता विद्युतीय कारोबारमा एक शाखाबाट जुनसुकै बैंकको कारोबार गर्न सकिने भएको छ।’

राष्ट्र बैंकको विवरणअनुसार ग्रामीण क्षेत्रमा रहेका शाखारहित बैंकबाट हुने कारोबार एक अर्बबाट माथि लागेको छ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको वित्तीय विवरणमा उल्लेख छ।

१६ वटा मोबाइल वालेट जोडिए
कनेक्ट आईपीएस र आईपीएसमा बैंक तथा वित्तीय संस्थाबाहेक नेपालमा सञ्चालित सबै मोबाइल वालेटहरु पनि जोडिएका छन्। बैंकबाट वालेटमा पैसा लोड गर्न र वालेटबाट बैंकमा पैसा पठाउन सजिलो भएको छ।

‘मोबाइल वालेटलाई प्रत्येक बैंकसँग जोडिनुपर्ने बाध्यता हटेको छ’, प्रधानले भने, ‘अहिले राष्ट्र बैंकबाट स्वीकृति पाएका ८ वटा त्यस्ता कम्पनी कनेक्ट आईपीएसको लाइभमा छन्।’

नेपाल राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट (एलओआई) पाइसकेका थप ८ वटा पनि जोडिने क्रममा छन्। त्यसपछि कनेक्ट आईपीएसमा जोडिने मोबाइल वालेटको संख्या १६ पुग्नेछ।

यो सुविधाले मोबाइल वालेटलाई पूर्वाधारमा लगानी कम हुने र अन्य सेवामा आफ्नो कामलाई केन्द्रित गर्न सक्नेछन्।

के हो कनेक्ट आईपीएस?
कनेक्ट आईपीएस नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्घित नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको अनलाइन भुक्तानीको एकीकृत प्लेटफर्म हो।

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएससहित आईपीएस र ईसीसी सेवा सञ्चालन गरेको छ।

कनेक्ट आईपीएसमा ५५ वटा बैंक तथा वित्तीय संस्था छन् भने आईपीएसमा ६४ वटा जोडिएका छन्। त्यस्तै, चेक तथा ईसीसीमा ६५ वटा बैंक तथा वित्तीय संस्था सम्बन्धित छन्।

यसबाट अनलाइन फन्ड ट्रान्सफर, सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, ट्राभल एजेन्सी भुक्तानी, स्कुल र कलेज, इन्स्योरेन्स भुक्तानीजस्ता कारोबारहरु गर्न सकिन्छ।

आईपीएसमा ठूलो रकम र बल्कमा गरिने रकम कारोबार हुन्छ। जस्तो स्यालरी पेमेन्ट, सोसल सेक्युरिटिज, सरकारले तिर्ने रकम लगायतको कारोबार यसबाट हुन्छ। यसमा व्यक्तिगत पनि कारोबार गर्न सकिन्छ तर बढी ठूलो रकमको कारोबार हुने प्रधानले बताए। यो कारोबारको लागि बैंकलाई सम्पर्क गर्नुपर्छ।

कनेक्ट आईपीएस भनेको पूर्ण रुपमा डिजिटल हो। यसमा कारोबारको सीमा पनि हुन्छ। सर्वसाधारणले घरमै बसेर मोबाइल एप वा यसको वेबसाइटमा रहेको आफ्नो अकाउन्टबाट चौबीसै घण्टा कारोबार गर्न सक्छन्।

त्यस्तै बैंकले पनि कनेक्ट आईपीएसबाटै ट्रान्ज्याक्सन (कारोबार) गरिरहेका छन्।

अन्य विद्युतीय भुक्तानी सेवामा पनि उत्तिकै वृद्धि
पछिल्लो समयमा विद्युतीय भुक्तानीका अन्य सेवाबाट हुने कारोबार र संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, इ–कमर्सको कारोबार पनि बढेको छ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार डेबिट कार्डको प्रयोग झण्डै दोब्बरले वृद्धि भएको छ। असारमा डेबिट कार्डबाट २५ अर्ब ८९ करोड ४० लाख कारोबार भएकोमा असोजमा ४९ अर्ब १० करोड ९० लाख भएको छ।

मोबाइल बैंकिङमा पनि कारोबार बढेको छ। असारमा १८ अर्ब ३९ करोड ३० लाख रुपैया कारोबार भएकोमा असोज महिनामा २८ अर्ब ८० करोड ४० लाखको कारोबार भएको थियो।

साउनमा ३ अर्ब ८ करोेड २० लाखको इन्टरनेट बैंकिङको कारोबार भएकोमा असोजमा ६ अर्ब ३१ करोड ४० लाख पुगेको छ।

मोबाइल वालेटको कारोबार पनि बढेको छ। असोजमा ९ अर्ब ८८ करोड ३० लाखको कारोबार भएको थियो। साउन महिनामा भने यसको कारोबार ७ अर्ब ५७ लाख ९० हजार थियो। त्यसअघि असार महिनामा १० अर्ब २२ करोड २० लाख रुपैयाँ कारोबार भएको थियो।

क्युआर कोडमा आधारित कारोबार पनि वृद्धि भएको छ। साउन महिनामा यस प्रविधिबाट ५८ करोड ९० लाख कारोबार भएकोमा असोजमा ९६ करोड ९० लाख पुगेको छ।

इ–कमर्स अर्थात् कार्डको प्रयोग गरी अनलाइनमार्फत भएको भुक्तानी कारोबारको तथ्यांक हेर्ने हो भने कारोबार तलमाथि भइरहेको देखिन्छ। साउन महिनामा १ अर्ब २० करोड १० लाखको इ–कमर्स भएकोमा भदौमा ५६ करोड १० लाख र असोजमा ७९ करोड ४० लाख भएको छ।

अर्थविद् केशव आचार्यले पनि क्युआर कोड, मोबाइल वालेटजस्ता प्रविधिबाट धेरै कारोबार भइरहेको बताए।

मुलुकमा इन्टरनेट ब्यान्डविथको खपत बढ्नु, स्मार्टफोनको प्रयोग बढ्नु र कोरोना संकटले पनि विद्युतीय कारोबार बढेको उनको भनाइ छ।

‘यो नेपालको डिजिटाइजेसनलाई राम्रो कुरा हो’, आचार्यले भने, ‘नेपालका अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .