ad ad

समाज


६ हजार प्रहरीले पाएनन् कोरोना बिमाको रकम, प्रोत्साहन भत्ता पनि आएन

६ हजार प्रहरीले पाएनन् कोरोना बिमाको रकम, प्रोत्साहन भत्ता पनि आएन

उजिर कार्की
मंसिर २१, २०७७ आइतबार १४:३४,

नेपाल प्रहरीका करिब साढे ६ हजार कर्मचारीले कोरोना बिमा बापतको रकम अझै पाउन सकेका छैनन्। गत भदौ १२ गतेबाट लागू हुने गरी बिमा गरिएको भएपनि प्रहरीहरुले बिमा रकम नपाएको गुनासो गरेका हुन्।

‘प्रक्रिया पूरा गरेर पेस गरिसकेका छन्, तर अहिलेसम्म कसैले पाएजस्तो मलाई लाग्दैन,’ प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले भने।

हालसम्म कोराना संक्रमित प्रहरीको संख्या ६ हजार ९ सय २८ पुगेको छ। यीमध्ये ६ हजार २ सय ८४ जना निको भएर काममा फर्किसकेका छन्। ६ सय ४१ जना अहिले पनि कोरोनासँग लडिरहेका छन्।

तर उनीहरुको यो लडाइँमा बिमाको साथ रहेन। निको भएर फर्किएकाले पनि कागजात पेस गरेको महिनौं भइसक्यो, तर बिमा कम्पनीबाट भुक्तानी पाएका छैनन्।

‘हाम्रो पनि बिमा गरेको छ भन्दा निक्कै खुसी लागेको थियो। मसहितका धेरै साथीहरु कोरोना संक्रमणमा प¥यौं १५÷२० दिनको अस्पताल बसाईपछि कोरोना जितेर फर्कियौं,’ ट्राफिक महाशाखाका एक हवल्दारले भने, ‘त्यसलगतै बिमा दाबी गर्दै कागजात बुझाएको हो, अहिलेसम्म भुक्तानी गरेको छैन।’

पछिल्लो पटक सरकारले बिमा रकम भुक्तानीका लागि ताकेता गरेपछि केही आशा जागेको उनीहरुले बताए। तर गृह मन्त्रालय र प्रहरी मुख्यालय यो विषयमा बोलेकै छैनन्।

‘हामीले बिमा रकम नपाएको गुनासो प्रहरी प्रधान कार्यालयमा गरेका छौं,’ ती प्रहरीले दुखेसो पोखे, ‘तर प्रधान कार्यालयले पर्खिनू, पछि देला भनेको छ। बिमा भनेको त आपतका लागि गर्ने होइन र?’

भदौ १२ गते पहिले नै कोरोना संक्रमण भएका प्रहरीले बिमा रकम पाउँदैनन्। तर त्यसपछि सबैलाई लागू हुने गरी प्रहरीहरुको बिमा प्रधान कार्यालयले गरेको छ। करिब ६ हजार ५ सय जति बिमा दाबी गर्न योग्य प्रहरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर चार महिना बित्न लाग्दा पनि प्रहरीहरुले यसको लाभ भने लिन पाएका छैनन्।

प्रोत्साहन भत्ताको पनि आश मात्रै देखाइयो
कोरोना संक्रमण रोकथामका लागि देशभर तयारी गर्दा होस् वा उपचारमा सघाउपघाउमा सुरक्षाकर्मी अग्रपंक्तिमा खटिए। उनीहरुलाई प्रोत्साहन गर्न भन्दै सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ।

सरकारको यो घोषणा पनि कार्यन्वयन हुन सकेको छैन।

प्रहरी प्रवक्ता कुँवरले प्रोत्साहन भत्ता अहिलेसम्म प्रहरीले नपाएको पुष्टि गरे। उनले भने, ‘नेपाल सरकारले निर्णय गरिसकेको हुनाले आउने प्रक्रियामा होला तर अहिलेसम्म पाइसकेको अवस्था छैन।’

सुरुमा अग्रपंक्तिमा खटिने सबैलाई दिने भनिएको प्रोत्साहन भत्ताको निर्णय पछि १० प्रतिशतले मात्रै पाउने निर्णय भयो। तर अहिले यो पनि कहिले आउने वा नआउने निश्चित छैन।

सरकारको निर्णयअनुसार प्रोत्साहन भत्ता पनि करिब ६ हजार प्रहरीले पाउँछन्। चार महिनाको प्रोत्सान भत्ताको आशमा प्रहरीले एक वर्ष हुन लाग्यो कुर्न परेको। त्यसमाथि संक्रमणका क्रममा ठूलो संख्यामा खटिएका छन् सुरक्षाकर्मी। यो कसलाई दिने कसलाई नदिने भन्ने प्रस्ट छैन। दैनिक करिब ४९ हजार प्रहरी परिचालन हुन्छन्।

‘नेपाल सरकारले गरेको निर्णय हो, बजेटको अभावले होला, अब यसैलाई व्यवस्थापन गरेर मिलाउनुपर्छ,’ प्रवक्ता कुँवरले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .