कारोबार


मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न अबको १० वर्ष महत्वपूर्ण छ : उद्योग परिसंघ

मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न अबको १० वर्ष महत्वपूर्ण छ : उद्योग परिसंघ

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १४:५७,

नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सिर्जना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे।

सबै किसिमका बिपत्तिमा पनि निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हांसिल गर्न सरकारको ध्यानाकर्षण गराए।

‘द्वन्द्व, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना जस्ता जटिल समय हामीले भोग्यौं। यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ,’ अध्यक्ष मोरले थपे ‘सरकारले उपयुक्त लगानी वातावरण सृजना गरेर अघि बढोस् मुलुक बन्छ।’

देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसँगै विदेशी लगानीको परिचालन अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्झटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे। श्रम शक्ति देशको महत्वपूर्ण पूँजी भएको भन्दै उनले स्वदेशमा सिर्जना हुने लगानी मैत्री वातावरणले युवाहरु ४५ डिग्रीको तापमा काम गर्न विदेशीने अवस्था रोकिने बताए।

अन्तरक्रियामा बोल्दै परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नु पर्ने बताए। नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गरे।

‘पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौं, हाम्रो क्षमता र फैलावटलाई अनुकुल हुनेगरी सरकारले समयनुकुल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्,’ उपाध्यक्ष अग्रवालले भने।

नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसंग निरन्तर पहल गर्ने पनि परिसंघले जनाएको छ।

कार्यक्रममा बोल्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको बताए।

आयातमुलक व्यापार उन्मुख नेपाली अर्थतन्त्रमा उत्पादनमुलक उद्योग सफलतापूर्वक अघि बढाउनु चुनौतीपूर्ण भएको ढकालको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad