ad ad

कारोबार


साना व्यावसायीलाई ठूला घराना र बजारसँग जोड्दैछन् प्रतीक

साना व्यावसायीलाई ठूला घराना र बजारसँग जोड्दैछन् प्रतीक

दीपक भट्ट
माघ २५, २०७७ आइतबार १५:३,

घरेलु उत्पादनलाई ठूला व्यावसायीमार्फत् बजारीकरण तथा ब्राण्डिङ गर्ने उद्देश्यसहित सुरु भएको उद्योगी ग्रुप पब्लिक लिमिटेडले सोहिअनुसार काम थालेको छ।

साना उद्योगी व्यावसायीलाई एउटै छातामुनि ल्याएर त्यसको बजार विस्तार गर्ने गरी यस कम्पनीले आफ्नो योजना अघि बढाएको हो।

सम्पूर्ण घरेलु उद्यमशील नागरिकले अहिले जसरी आफै वस्तु उत्पादन गरिरहेका छन् त्यसरी नै वस्तु उत्पादन गर्ने तर तिनलाई यस उद्योगी ग्रुप पब्लिक लमिटेडले एकद्वार प्रणालीबाट बिक्रि तथा प्रबद्र्धन कार्यलाई अघि बढाउने छ।

‘उद्यमशील नागरिकलाई कसरी प्रोत्साहन गर्ने भन्ने सोच पहिलेदेखि नै थियो,’ कम्पनीका अध्यक्ष प्रतीक कार्की भन्छन्, ‘यो उद्देश्यमा काम गर्न खोज्दा उनीहरुलाई एकीकृत गरेर अघि बढ्ने सोच आयो र त्यहिअनुसार यो कम्पनी संचालनमा ल्याइएको हो।’

यो कम्पनीले पहिलो चरणमा अल्लो व्यावसायीहरुको प्रर्वद्धनबाट काम सुरु गरेको छ। नेपालभर उत्पादन हुने अल्लोको धागो यो कम्पनीले एकीकृत गरेर देशका ठूला धागो उद्योगलाई प्रदान गर्ने छ।

ती ठूला धागो उद्योगले साना व्यावसायीहरुले उत्पादन गरेको कच्चा धागोलाई प्रशोधन गरी आफै ब्राण्डिङ र बजारीकरण गर्ने छन्।

प्रतिफल वितरणको लागि यस कम्पनीमा सहभागी हुने सबै अल्लो धागो उद्यमशील नागरिकलाई कम्पनीको सेयर पनि वितरण गरिसकिएको छ।

अब उनीहरुले कम्पनीमा भएको सेयर अनुसारको नाफा र आफूले उत्पादन गरेको अल्लोको परिमाण अनुसार आम्दानी लिन सक्नेछन्।

अल्लोको धागोको लागि उद्योगी ग्रुपले नेपालकै सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्ससँग सहकार्य गरेको हो।

अध्यक्ष कार्की भन्छन्, ‘पहिलो चरणमा हामीले रिलायन्स स्पिनिङ मिल्ससँग सम्झौता गरेका छौं। त्यसअनुसार साना उद्योगीले उत्पादन गरेको अल्लो धागो सबै उसले नै लिने छ र रिलायन्सले हाल उत्पादन भैरहेको भन्दा पनि बढि माग गरिरहेको छ।’

 UdhyogiGroup AlloBag

रिलायसन्ले अल्लोको कच्चा धागो १ सय ८० रुपैँया प्रतिकेजीमा किन्ने सम्झौता गरेको छ। त्यसको लागि ५ करोड रुपैँया तत्काल दिने बताएको छ। जस अनुसारको परिमाण छिट्टै रिलायन्सलाई दिनुपर्ने छ।

यसरी उद्योगी ग्रुप पब्लिक लिमिटेडले साना उद्योगीका व्यवसाय तथा उत्पादनलाई प्रवद्र्धन गर्ने योजनामा त्यसको मध्यस्थता भने धागो उत्पादक संघका सचिवालय सचिव उत्तम गौतमले गरेका हुन्।

नेपालमा रोजगारी बढाउने र दक्ष जनशक्ति उत्पादन गर्ने योजनामा काम गरिरहेको धागो उत्पादक संघमार्फत गौतमले अल्लो व्यावसायी र उद्योगी ग्रुप पब्लिक लिमिटेडलाई रिलायन्स मिल्ससम्म जोड्ने काम गरेका हुन्।

अल्लो एक रेशादार घाँस हो। नेपालीहरुले दुई दशकभन्दा पहिलेदेखि नै अल्लोबाट धागो निकाल्ने काम गर्दै आएका छन्। आफ्नै घर परिसरमै धागो निकालेर सानोसानो स्तरमा कपडाहरु बुन्ने काम हुदै आएको छ। नेपालको अधिकांश पहाडी भेगमा पाइने यो घाँसको रेशा निकाल्ने, त्यसलाई थप प्रशोधन गर्ने काममा अधिक श्रम शक्ति चाहिने आकलन गरी त्यसमा काम गर्न गौतम लागी परेका थिए।

त्यसै क्रममा बीसौं वर्षदेखि सोहि काममा लागिरहेका व्यक्तिहरुसमेत उनले भेट्टाए। त्यसपछि उद्योगी ग्रुप र उद्यमशील नागरिकहरुसँग सहकार्य गरेर थप रोजगारी सिर्जनामा लागिपरेको गौतम बताउँछन्।

उनी भन्छन्, ‘हाम्रो उद्देश्यसँग मिल्दो योजनाअनुसार उद्योगी ग्रुप अघि बढ्न लागेको देखिएपछि रिलायन्ससँग सहकार्यको वातावरण मिलाइएको हो।’

रिलायन्सले अल्लोको धागो लिएर त्यसबाट प्रशोधित धागो उत्पादन गर्न थालिसकेको छ।

गोल्यान ग्रुपको लगानी रहेको रिलायन्स मिल्सले अल्लो र फाइवर मिसाइएको प्रशोधित धागो निकाल्न थालेको हो। गोल्यान ग्रुपकै लगानी रहेको कपडा उद्योगबाट नमूनाको रुपमा स्वीटर समेत निकालिसकेको छ।

त्यसैगरी स्कुल जाने विद्यार्थीहरुले बोक्ने झोलाको पनि उत्पादन सुरु गरिएको छ। अल्लोको झोला उत्पादन गरेर स्कुलहरुमा बिक्रि वितरण गर्ने योजना समेत उद्योगी ग्रुप पब्लिक लिमिटेडले आफ्नो लक्ष्य राखेको छ।

उद्योगी ग्रुप पब्लिक लिमिटेडले अहिलेका गतिबिधिलाई आफ्नो लक्ष्यअनुसार पहिलो खुड्किलोमा रहेको बताएको छ।

वर्षौंदेखि आफ्नो निश्चित क्षेत्रमा काम गर्दै आएका तर प्रविधिको अभाव खेपेका तथा बजारीकरण लगायतका समस्या भोग्दै आएका अरु व्यावसायीलाई पनि जोड्ने योजना रहेको सो समूहले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .