गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्बको सामुहिक लगानी कोष स्थापना गर्ने तयारी गरेको छ।
संघका अध्यक्ष कुमार पन्तले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीबार भएको भेटमा गैर आवासीय नेपालीहरुले स्थापना गर्न लागेको कोषबारे जानकारी दिए।
उनले संघको अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउनको लागि तयारी भइरहेको जानकारी दिँदै त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको बताए।
अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताए। अध्यक्ष पन्तका अनुसार कम्पनीमा प्रमोटर्सहरुको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ। गैरआवासीय नेपालीहरुले लगानीका लागि आईपीओ जारी गरिनेछ।
अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे प्रस्तावहरु आइसकेको र कतिपय आउने क्रममा रहेको जानकारी दिए। उनले विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुंगो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई आग्रह गरे।
अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया