ad ad

कारोबार


हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी हुँदै, नाम पनि जुर्‍यो

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी हुँदै, नाम पनि जुर्‍यो

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ८:६,

नेपालका ठूलामध्येका दुई वाणिज्य बैंकहरुबीचको मर्जर (गाभिने) प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुनलागेको हो।

यी दुई बैंकबीच पर्सि अर्थात् मंगलबार एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर हुनलागेको हो।

मर्जरअघि हुनुपर्ने प्रायः सबै किसिमका अध्ययन तथा अन्य तयारीहरु पूरा भइसकेको छ।

मर्जरअघि हुनुपर्ने मुख्य अध्ययन भनेको सम्पत्ति तथा दायित्वको मूल्यांकन अर्थात् ड्यु डिलिजेन्स रिपोर्ट तयार गर्नु हो। यो भनेको कुनै संस्थाहरुबीच हुने मर्जर या प्राप्तिबारेको अध्ययन विश्लेषणको निचोड या सारांश हो।

खासगरी एक्वायरर अर्थात् कुनै संस्थालाई प्राप्ति गर्ने संस्थाले प्राप्ति या मर्जरअघि यो रिपोर्ट बनाउँछ। दुई संस्था एक हुनुअघि गरिने सम्बन्धित संस्थाहरुको सम्पत्ति तथा दायित्वको मूल्यांकन गरिन्छ।

यी बैंकहरुको हकमा टीआर उपाध्याय एकाउन्टिङ फर्मले यो रिपोर्ट तयार गर्यो जुन रिपोर्ट दुवै बैंकले स्वीकारेपछि मर्जर प्रक्रिया अघि बढेको हो। योसँगै मंगलबार मर्जरको औपचारिक समझदारी हुनेछ।

सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदनअनुसार इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयनको १०२ रुपैयाँ ५० पैसा मूल्य तय गरेको छ। स्वाप रेसियो १ अनुपात १ रहने गरी दुवै बैंक मर्जरमा जान लागेका हुन्।

त्यस्तै यी बैंकहरुबीच हुनुपर्ने नेतृत्वको समझदारी पनि मोटामोटी मिलेको हिमालयन बैंकका एक सञ्चालकले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार मर्जरपछि बैंकको अध्यक्षको जिम्मेवारी हाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् ।

त्यस्तै बैंकमा दुई जना सीईओ रहने गरी कुरा मिलेको छ। जसमा सिनियर सीईओको जिम्मेवारी हिमालयन बैंकका सीईओ रहेका अशोक राणा रहेनछन्।

इन्भेष्टमेन्ट बैंकका सीईओ रहेका ज्योतिप्रकाश पाण्डे जुनियर सीईओ रहनेछन्। तर यी दुई सीईओबीच काम बाँडफाँट हुनेछ। निश्चित क्षेत्रहरु छुट्याएर उनीहरुको कार्यविभाजन हुनेछ।

ती सञ्चालकले भने, ‘अब दुवै बैंकको सञ्चालक समितिको बैठकले नै सीईओ, अध्यक्षको जिम्मेवारीदेखि सेयर मूल्याङ्कनलाई सहमति जनाइसकेको छ। त्यसकारणले पनि अब मर्जरको ठूलो समस्या छैन।’

मर्जरमा जानको लागि मिलाउनुपर्ने विषय बैंकको नाम पनि हो। बैंकको नामले पनि बैंकको अस्तित्व हुने नहुने विषयलाई हेर्न गरिन्छ।

यी दुई बैंकको मर्जरपछि भने नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने सहमति भएको छ।

त्यस्तै कर्मचारी व्यवस्थापनको हिसाबमा भने केही कर्मचारी स्वैच्छिक अवकाशमा जान चाहेको खण्डमा त्यो व्यवस्था पनि गर्ने दुवै बैंकबीच सहमति भएको छ।

मर्जरपछि बैंक एकै स्थानमा रहेका शाखाहरु समेत मर्ज हुने भएकोले धेरै कर्मचारी कटौतीमा पर्नसक्ने देखिएको छ।

त्यस्तै केन्द्रका केही कर्मचारीहरु समेत जिम्मेवारीविहीन बन्न सक्नेछन्। त्यसैका लागि स्वैच्छिक अवकाशको व्यवस्था गर्न लागिएको छ।

मर्जरपछि बैंकको क्षमता
हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ।

यी दुवै बैंक १ अनुपात १ को स्वापमा मर्जरमा गएमा २४ अर्ब ९२ करोड पुग्ने देखिएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ।

यसअनुसार बैंकको पुँजी कोष ४६ अर्ब पुग्ने देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .