बजारमा नयाँ मोडलका गाडी सार्वजनिक भएसँगै ग्राहकको चासो बढेको छ।
एलसी मार्जिन र आयात प्रतिबन्धको कारण १ वर्षदेखि ठप्प अटो बजारमा नयाँ गाडी सार्वजनिक हुनथालेका हुन्।
कोभिड महामारीपछि ह्वात्तै बढेको अटो बजार वैदेशिक मुद्रा सञ्चितिमा कमी आएको उल्लेख गर्दै १ वर्ष अघिबाट गाडी आयातमा कडाइ गरिएको थियो।
गत मंसिरमा गाडी आयात खुलेसँगै नयाँ भर्जन र मोडल सार्वजनिक हुनथालेका छन्।
सुजुकी, हुन्डाई, महिन्द्रा, फोर्ड, बीवाईडीले नयाँ मोडल/भर्जनका गाडी सार्वजनिक गरिसकेका छन्।
सीजी मोटोकर्पका सिरज पन्तले नयाँ गाडी ल्याएसँगै ग्राहकको चासो बढ्दै गए पनि बुकिङमा कन्भर्जन नभइसकेको बताए।
‘नयाँ गाडी सार्वजनिक भएसँगै चासो राख्ने ग्राहक बढेका छन्’, सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर पन्तले भने, ‘बैंकको ब्याजदर र फाइनान्सिङ लगायतका कारण बुकिङ धेरै बढेको छैन।’
अघिल्लो हप्ता मात्रै सवारीसाधन ब्रान्ड सुजुकीले नेपालमा ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरेको थियो।
सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिंग्सअन्तर्गतको सीजी मोटोकर्प र सीजी नेक्स्टजेनले दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा नेपालमा सार्वजनिक गरेको हो।
यी गाडीहरु कुल १५ मोडलमा सार्वजनिक भएका छन्। दुईमध्ये ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड जेटा ५एमटीको मूल्य ६३ लाख ९९ हजार रहेको छ। त्यसैगरी नयाँ ब्रेजा स्मार्ट हाइब्रिड ‘ब्रेजा एलएक्सआई’को मूल्य ४४ लाख ९९ हजार रहेको छ।
सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले पछिल्लो समय नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताए।
हुन्डाईको आई१० नियोस फेसलिफ्ट
नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड आई१० नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ।
हुन्डाई ग्रान्ड आई१० नियोसको पूर्वमोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो। अझ बढी परिष्कृत, आरामदायी र नयाँ फिचरले भरिएको ग्रान्ड आई१० नियोस बजारमा आएको छ।
एमटी अप्सनमा एरा, म्याग्ना र स्पोट्र्ज भेरियन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोट्र्ज भेरियन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आई१० नियोसको प्रारम्भिक मूल्य २९.९६ लाख कायम गरिएको छ।
हुण्डाई ग्रान्ड आई १० नियोस समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएका छन्।
गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलईडी टेल लाइट्सजडित लाइटबारले नयाँ ग्रान्ड आई१० नियोसलाई विशिष्ट स्वरूप दिएको छ।
यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। नयाँ ग्रान्ड आई १० नियोस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ।
महिन्द्राको एक्सयूभी ७००
महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले एक्सयूभी ७०० सार्वजनिक गरेको छ। एक्सयुभी ७०० अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
गाडीले अधिकतम पावर २०० पीएस र ३८० एनएम टर्क जेनेरेट गर्छ। २.० पेट्रोल इन्जिनमा उपलब्ध गाडीमा सुरक्षाका लागि ६ वटा एयर ब्याग छन्।
महिन्द्राका वरदान बस्नेतले गाडीको सुरूवाती मूल्य ७४ लाख रूपैयाँ रहेको बताए। फुल अप्सनको गाडीको मूल्य १ करोड १० लाख रूपैयाँ तोकेको उनले जानकारी दिए।
नेक्स्ट जेन फोर्ड एभरेष्ट
जीओ अटोमोबाइल्स प्रालि (जि ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्र्याएको छ।
एड्भेन्चर फिचरहरु रहेको कम्पनी नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. बाई–टर्बो डिजेल इन्जिनमा १०–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पी.एस. पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ।
जीओ अटोमोबाइल्सका प्रबन्धनिर्देशक आकाश गोल्छाले नेपाली ग्राहक तथा एड्भेन्चरप्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुने बताएका छन्।
गाडीमा १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम सिन्क४ए प्रणाली छ। यसको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको छ।
विद्युतीय गाडी बीवाईडी अट्टो ३
बीवाईडीले सय किलोवाट मोटरको अट्टो३ नेपालमा सार्वजनिक गरेको छ।
बीवाईडीको अधिकृत बिक्रेता साइमेक्स इन्क प्रालिले १०० किलोवाट मोटर भर्सनको अट्टो ३ नेपालमा भित्र्याएको छ।
अट्टो ३ सन् २०२२ को फेब्रुअरीमा विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो। ब्लेड ब्याट्री रहेको गाडीमा ५० मिनेटमा शून्यबाट ८० प्रतिशतसम्म चार्जिङ हुनसक्छ। यसको ४२० किमि रेन्ज छ भने ब्याट्री क्षमता ६० किलोवाट आवर छ।
यसमा सातवटा एयरब्याग, पानारोमिक सनरुफ, १२.८ इन्चको अड्याप्टिभ रोटेटिङ स्क्रिन, ३६० डिग्रीको होलोग्राफिक ट्रान्सपरेन्ट इमेजिङ सिस्टम, एनएफसी कार्ड कि, भेहिकल टु लोड मोबाइल पावर स्टेसनजस्ता फिचर रहेका छन्। यसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ छ।
नयाँ ब्रान्ड म्याक्सस
प्यारामाउन्ट मोटर्सले औपचारिक रुपमा अटो ब्रान्ड म्याक्सस नेपालमा भित्र्याएको छ। विशाल ग्रुपअन्तर्गतको प्यारामाउन्ट मोटर्सले पिकअप ट्रक र कार्गो भ्यान सार्वजनिक गरेको हो।
कम्पनीले म्याक्सस टी ६०, टी ७० र भी ८० नेपाली बजारमा सार्वजनिक गरेको छ। २.८ र २.० लिटर टर्बो डिजेल इन्जिनमा छ।
प्रिमियम भेरियवल जिओमेट्री टर्बोचार्जर प्रविधिसहितको सार्वजनिक गरेको छ। कम्पनीका पिकअपमा अटोमेटिक एसी, की–लेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, त्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, क्लाईमेट कन्ट्रोलजस्ता फिचर्स रहेका छन्। पिकअपमा २१५ एमएम ग्राउन्ड क्लियरेन्स छ।
पिकअप म्याक्सस टी ७०को मूल्य ६८ हजार ४९ हजार रुपैयाँ छ। टी ६० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ छ।
प्रतिक्रिया