ad ad

कारोबार


भाडामा चल्ने सवारीसाधनको भन्सार र अन्तःशुल्क घटाउन अर्थमन्त्रीसँग नाडाको माग

अध्यक्ष थापाले भने– जोखिम भार ७५ प्रतिशत नै राखियोस्, पार्टपुर्जाको चोरी पैठारी रोकियोस्
भाडामा चल्ने सवारीसाधनको भन्सार र अन्तःशुल्क घटाउन अर्थमन्त्रीसँग नाडाको माग

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:३०, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. प्रकाशशरणसँग भेटी विभिन्न समस्याको समाधानबारे छलफल गरेको छ। 

आइतबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री महतसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गरेको हो। 

सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गरे। 

उनले सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेको नाडाले जनाएको छ। सोही क्रममा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधारण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे। 

अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजस्व पनि बढ्ने सुझाव दिए।

सो छलफलको क्रममा मन्त्री महतले आफू धेरै अप्ठ्यारो परिस्थितिमा आएको बताउँदै अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोबाइल व्यवसायीहरुलाई समस्या परेको छ, त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाइदिन आग्रह गर्दै त्यसको समुचित समाधानका लागि प्रयास गरिने आश्वासन दिए।

सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेको सन्दर्भमा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे। 

उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्य समिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .